१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

काेशीका विनाविभागीय मन्त्रीलाई एक महिनापछि बल्ल मन्त्रालयकाे जिम्मेवारी तोकिँदै

देवनारायण साह

मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनादेखि विनाविभागीय मन्त्री रहेकाहरुलाई मन्त्रालयकाे जिम्मेवारी ताेक्न लागेका छन् ।

काेशीका विनाविभागीय मन्त्रीलाई एक महिनापछि बल्ल मन्त्रालयकाे जिम्मेवारी तोकिँदै

विनाविभागीय मन्त्री नेपाली कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी ताेक्न लागेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीसँगै राई असाेज २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए भने उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए ।

मन्त्रीहरूलाई विभागीय जिम्मेवारी दिन आज नै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई सिफारिस गर्न लागेकाे बताएका छन् । तीन मन्त्रीले जिम्मेवारी पाउन लागे पनि आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिँचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीसँग नै छ ।

सभामुखको निर्वाचन भएपछि मात्रै मन्त्रिमण्डल विस्तार तथा पूर्णता दिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्राेतले जनाएकाे छ । यसअघि तत्कालीन सभामुख बाबुराम गाैतमले सभामुखबाट राजीनामा दिएर तत्कालीन मुख्यमन्त्री उद्धव थापाकाे मन्त्रिमण्डलमा आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे जिम्मेवारी सम्हालेदेखि सभामुख पद रिक्त रहेकाे छ ।

प्रकाशित : मंसिर १५, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?