देउसी र बिंगो खेलेर संकलन गरेको रकम भूकम्पपीडितलाई

पाँचथर — पाँचथरको फिदिम नगरपालिका-८ को ब्लुमिङ फ्लावर्स इंलिस स्कुलले यस वर्षको दिपावलीका अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम जाजरकोट र रुकुमका भूकम्प पीडितसँगै जिल्लाका २ जना क्यान्सरपीडितलाई उपलब्ध गराएको छ ।

स्कुलले संकलन गरेको रकममध्ये ३० हजार रुपैयाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितलाई उपलब्ध गराएको हो । विद्यालयका संस्थापक डीबी गुरुङ सहितका सञ्चालक र स्टाफहरुले प्रधानमन्त्री कार्यालयमा पठाएको रकमको भौचर मंगलबार पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई हस्तान्तरण गरे ।
विद्यालयले जिल्लाका २ जना क्यान्सरपीडितलाई पनि उपचार सहयोगका लागि नगद सहयोग गरेको छ । फिदिम-८ की कुसुम मुखिया र फाल्गुनन्द-३ का सलोनराज बाँस्कोटालाई २० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको संस्थापक गुरुङले जानकारी दिए ।
यस्तै फिदिम बजारका युवाहरुले तिहारक्रै अवसरमा बिंगो खेलाउँदा बचत भएको रकम पनि जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि पठाएका छन् । युवाहरुले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरेर त्यसको भौचर प्रमुख जिल्ला अधिकारी मंग्रातीलाई बुझाएका हुन् । एकसातासम्म बिंगो खेलाउँदा टिकट बिक्रीबापतको रकम खर्च कटाएर सहयोग गरेको जनाइएको छ ।
