उर्लाबारी आगलागी : थप १० जनालाई उपचारका लागि काठमाडौं लगियो

विराटनगर — गत आइतबार राति मोरङको उर्लाबारीमा भएको आगजनीमा परेर घाइते भएका थप १० जनालाई उपचारका लागि मंगलबार नेपाली सेनाको जहाजबाट काठमाडौं लगिएको छ ।

यसअघि सोमबार १४ जना घाइतेलाई थप उपचारकालागि काठमाडौं लगिएको थियो । मंगलबार झापाको बीएण्डसी अस्पतालमा उपचार गराइरहेका थप १० जनालाई नेपाली सेनाको जहाजबाट उपचारका लागि काठमाडौं लगिएको हो । यसको संयोजन उर्लाबारी नगरपालिका र कोशी प्रदेश सरकारले गरेका छन् ।
उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर सख्त घाइते भएका थिए । पसलमा आगलागी भएसँगै ग्यासको सिलिण्डर विस्फोट हुँदा आगोको लप्कामा परेर उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।
मंगलबार सुमन सेन्दाङ, लालवहादुर लिम्बु, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बु, रुकुमवहादुर कार्की, नविन थापा, हेमकुमार दाहाल र करण संग्रौलालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।
प्रकाशित : कार्तिक २८, २०८० २०:०८