विराटनगर — मोरङको उर्लाबारीमा गत राती भएको आगलागीमा घाइते भएका १४ जनालाई थप उपचारका लागि सोमबार नेपाली सेनाको जहाजबाट काठमाडौं लगिएको छ ।
घटनामा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये सख्त घाइते १४ जनाको थप उपचारका लागि कोशी प्रदेश सरकार र उर्लावारी नगरपालिकाले काठमाडौं लगेको हो ।
उपचारकालागि काठमाडौं लगिएकामा उर्लावारी ७ का विशाल बस्नेत, शिवकमार बिक, राम नरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, सुमन चौधरी, कैलाश गुरुङ, नेत्र भण्डारी, राजन लुईटेल, रातामान सोरेन लगायत १४ जना छन् ।
७ बरगाछी स्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा गएराती आगलागी हुँदा चार प्रहरी सहित २८ जना जलेर सख्त घाइते भएका थिए । उनीहरु प्राय सबैको शरिर कम्तीमा ४० प्रतिशत समेत जलन भएको प्रहरीले बताएको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालका अनुसार पसलमा आगलागी भएसँगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घर बाहिर सडक र पेटीमा रहेका सर्वसाधारण र प्रहरी आगोको ज्वालामा पर्दा जलेका थिए । उनीहरु आगो निभाउन पुगेका थिए ।
आगलागीबाट कार, मोटर साइकल र सुनचाँदी सहित घरमा समेत ठूलो क्षति पुगेको छ ।
प्रकाशित : कार्तिक २७, २०८० २०:२३