फूल फुलाउँछन्, बेच्दैनन्

पाँचथर — ढुंगामाटोले बनाइएको घर चित्राले छाएर चिटिक्क पारिएको छ । घर वरपर ढकमक्क फुलिरहेका विभिन्न थरीका सयपत्री फूल छन् । फूल स्याहार्न व्यस्त देखिन्छन्, ८६ वर्षीय लक्षुमन राई र उनकी ८३ वर्षीया पत्नी मिर्चिमाया ।

फूलको दृश्य र तस्बिर कैद गर्दै आँगननेर पुग्दा वरिपरि बारीका पाटा, कान्ला र भित्तामा सयपत्री फूलकै बगान देखियो । यत्ति धेरै फूल बिक्रीका लागि रोप्नुभएको हो ? ‘होइन, हामीलाई फूल बेच्न राम्रो लाग्दैन,’ लक्षुमन हाँसे, ‘तिहार मान्ने, तीर्थव्रत गर्ने र पूजा लगाउन चाहनेलाई निःशुल्क दिन्छौं, तपाईं पनि चाहिएजति लान सक्नुहुन्छ ।’
लक्षुमन मात्रै होइन, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारताप क्षेत्रमा वर्षौंदेखि सयौं रोपनी जग्गामा फूल रोप्दै आएका स्थानीय फूल बेच्दैनन् । परम्परादेखि नै बगैंचा र करेसाबारीमा पर्याप्त फूल रोपे पनि फूल बेच्दा धर्म नष्ट हुन्छ भन्ने विश्वासले बिक्री नगरेको उनीहरूको भनाइ छ ।
मेची राजमार्गको दायाँबायाँ ढकमक्क सयपत्री फुलाउने उनीहरूको घरमा फूल किन्न दैनिक ८–१० जना ग्राहक आउँछन् । यहाँका राई परिवार फूल बेच्दैनन् । ‘फूल नबेचे पनि किन्न आउनेलाई खाली हात फर्काएका छैनौं,’ स्थानीय नन्दकुमार राईले भने, ‘फूल बेच्न कुनै मुन्धुम र शास्त्रले नरोके पनि पैसा लिएर दिन मन मान्दैन ।’
यसरी फूल रोपिएको क्षेत्र मेची राजमार्ग भएर दैनिक सयौं नागरिक ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको दर्शन गर्न आउजाउ गर्छन् । ‘फूल देखेर लोभ्याउने तीर्थयात्रीले किन्न माग्छन् । यसरी माग्नेलाई पुग्दो दिएर पठाउँछौं,’ लक्षुमनले थपे ।
सोही ठाउँका नन्दकुमार र रमेश राईले ३–३ हलको बारीका पाटामा सयपत्री फूल रोपेका छन् । ती बोटमा प्रशस्त फूल फुलेका छन् । लक्षुमन र नन्दकुमारजस्तै स्थानीय पदम तामाङ, रमेश राई र धनबहादुर राईसहित टोलभरका २५ भन्दा धेरैले रोपेका फूलका बोट नै नुहाएर अहिले फुलिरहेका छन् ।