कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

घुन्सामा पुल भाँचिदा आधा दर्जन चौंरी घाइते

आनन्द गौतम

ताप्लेजुङ — पशु चौपाया तर्ने क्रममा फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा खोलाको फलामे पुल भाँचिदा आधा दर्जन बढी चौंरी घाइते भएका छन् । स्थानीय चौंरीपालक तेञ्जिङ शेर्पाका अनुसार खम्बाछेन, लोनाक लगायतका खर्कबाट घुन्साको बस्ती हुँदै फले लैजाने क्रममा पुल भत्किएको हो ।

'१३/१४ वटा एकैपटक पुलमा पसेको थियो, ' चौंरी पालक डिमा शेर्पाले भने, 'भ्‍याप्पै भाँचिदा ६/७ वटाचाहिँ निकै घाइते भयो, बाँकीचाहिँ निकाल्न सकियो ।' ७० वटा चौरी तार्ने क्रममा पुल भत्किएको उनले बताए ।

मान्छे र भेडा बाख्रा झोलुङ्गे पुलबाट तार्ने भए पनि चौंरी तार्न फलाम र काठको पुल बनाउने गरिएको छ। फलामले बनाएको पुल भत्किएको भेडापालक गोपाल विश्टले जानकारी दिए ।

यो खोलाबाट एक हजार भन्दा बढी चौंरी यही समयमा तार्नुपर्ने स्थानीय बताउँछन् । पुल भत्केपछि अब समस्या हुने उनीहरूको दाबि छ । बर्खाले यो वर्ष घुन्सा क्षेत्रमा खासै क्षति पुर्‍याएको थिएन । घाइते चौंरीको घरेलु उपचार गर्ने र आवश्यक परे गाउँपालिकाबाट पशु स्वास्थ्यकर्मी बोलाउने चौंरीपालक बताउँछन् ।

प्रकाशित : आश्विन १६, २०८० १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?