एमाले कोशीको मतगणना सुरू

मोरङ — नेकपा (एमाले) कोशी प्रदेशको मतगणना सोमबार साँझ सुरू भएको छ । आइतबार राति १०:३० बजेबाट मतदान सुरू भएर सोमबार बिहान ६:३० बजे सम्पन्न भएको थियो । निर्वाचन समिति संयोजक चुडामणि आचार्यले कूल मतदाता ९९७ मध्ये ९७७ जनाले मतदान गरेको बताएका छन् । २० जना अनुपस्थित रहे ।

प्रदेश कमिटीको अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा चेम्जोङको मात्रै उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित हुने भएका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका सैलेश लामा, उपसचिवमा खोटाङका देउमान राई, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली प्रतिस्पर्धामा छन् ।
दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भए पनि निर्वाचन समितिले भने औपचारिक घोषणाा गरिसकेको छैन । दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको निर्वाचनमा ७३ जना निर्विरोध भएपछि १४२ पदका लागि ३१८ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ ।
