एमाले काेशी उपाध्यक्षमा चेम्जाेङसहित ४९ निर्विराेध, अन्य पदमा दिउँसाे मतदान हुने

माेरङ — एमाले कोशीकाे प्रथम महाधिवेशनले दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जाेङसहित ४९ जना निर्विराेध निर्वाचित हुने भएका छन् । प्रदेश कमिटीकाे अध्यक्षमा लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समिति संयाेजक चुडामणि आचार्यकाअनुसार शनिबार मनाेनयन दर्ता भइसकेकाेले आइतबार उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेर मतदान प्रक्रिया सुरू हुने बताएका छन् । अहिले उम्मेदवारहरूकाे नामावली प्रकाशन गरिएकाे छ दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि ४५४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा चेम्जाेङको मात्रै उम्मेदवारी दर्ता भएकाेले उनी निर्विराेध निर्वाचित हुने अवस्था आएको हो । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेस लामा, उपसचिवमा खाेटाङका देउमान राई र संखुवासभाका भविश्वर गुरूङ र समावेशी उपसचिवमा झापाकी जलवर्षा राजवंशी र माेरङका खेम नेपालीले उम्मेदवारी दर्ता गराएका हुन् ।
दुई सय १० सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका ४४५ उम्मेदवारमध्ये साेलुखुम्बु, पाँचथर, इलाम जिल्लासहित ४८ सदस्य निर्विराेध निर्वाचित हुने भएकाे छ । निर्वाचन समितिले उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेपछि उनीहरू निर्विराेध निर्वाचित हुने र बाँकी रहने १६६ पदका लागि मतदान हुने छन् ।
