आन्दोलनको नाममा विद्यालय बन्द गरे फक्ताङलुङ गाउँपालिकाले शिक्षकलाई कारबाही गर्ने


ताप्लेजुङ — सार्वजनिक बिदा बाहेकका दिन विद्यालय बन्द गरे जिल्लाको फक्ताङलुङ गाउँपालिकाले शिक्षकलाई कारबाही गर्ने जनाउ दिएको छ ।


गाउँपालिका अध्यक्ष राजन लिम्बुले विज्ञप्ति प्रकाशित गर्दै गाउँपालिकाको शिक्षा ऐन २०७६, नियमावली २०७९ र प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका हुन् ।
संघीय संसद्मा दर्ता भएको शिक्षा विधेयकको सन्दर्भलाई लिएर विद्यालय बिदासम्मको कार्यक्रम आयोजना गरिएको बुझिएको हुँदा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ । आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन् भएको छ छैन भन्ने विषय महत्त्वपूर्ण हुन आउने भएकाले बालबालिकाको पढ्न पाउने अधिकारलाई ध्यान दिन विज्ञप्तिमा आग्रह गरिएको छ ।
विद्यालय बन्द, हड्ताल कदापी स्वीकार्य नहुने उल्लेख गर्दै अध्यक्ष लिम्बुद्वारा प्रेषित विज्ञप्तिमा गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारीमा निर्देशन जारी गरिएको उल्लेख छ ।
प्रकाशित : आश्विन २, २०८० १५:१२