दाइजोको निहुँमा पत्नीको हत्या, पति पक्राउ


विराटनगर — पत्नीको हत्या गरेको आरोपमा सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले थप थप दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेको प्रहरीको दाबी छ ।


भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) सँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटर साइकल दाइजो लिएर विवाह गरेका थिए ।
उनले थप दाइजो नल्याएको भन्दै गत शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएपछि नगेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए ।
घटनाको अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि वास्तविकता खुल्ने रेग्मीको भनाइ छ । शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिएको थियो ।
निकिताको ११ महिनाको छोरो छन् । त्यो नाती हेर्न उनकी आमा सरिताले गत शनिबार राति साढे नौ बजे भिडियोकलमा कुरा गरेकी थिइन् । भिडियोकलमा कुरा गर्दा निकिताले ज्वाईंसँग दाइजोको निहुँमा आफ्नो झगडा भइरहेको सुनाउँदै आइतबार बिहान माइत आउने बताएकी थिइन् ।
सरिताले भनिन् ‘त्यसबेला ज्वाईंले निकितालाई दाइजोको कुरा निकालेर हप्कीदप्की गर्दै थिए । उनले माइत आउन निकितालाई ४ हजारको सारी किनेका रहेछन् । त्यो सारी देखाउँदै 'तेरा बाउ' ले चार हजारको सारी अहिलेसम्म देखेको छ भन्दै कराउँदै थिए । भनेअनुसारको काम नगरे निकिताको नाम नै मेटाइदिने धम्की दिँदै थिए ।’ सरिताले भने भोलि छोरी आइहाल्छे भन्ठानेर फोन राखेकी थिइन् । त्यसको डेढ घण्टापछि नगेन्द्रका आफन्त कसैले निकिताले झुन्डिएर आत्महत्या गरेको र कसैले बाथरुममा लडेर मृत्यु भएको विरोधाभासपूर्ण खबर पठाएका थिए ।
शनिबार राति टाउको र अनुहारबाट रगत बग्दै गरेको अवस्थामा नगेन्द्रका आफन्तले निकिताको उपचारका लागि इनरुवा अस्पतालमा लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको भन्दै विराटनगर रिफर गरेको थियो । त्यसपछि उनीहरूले विराटनगरको विराट शिक्षण अस्पताल ल्याएका थिए । स्थानीयका अनुसार शिक्षण अस्पताल ल्याएको केही समयपछि चिकित्सकले निकितालाई मृत घोषणा गरेका थिए ।
निकिताका बुबा विष्णुका अनुसार विवाह भएको केही महिनापछिदेखि नै नगेन्द्रले निकितालई थप दाइजोका नाममा मानसिक र शारीरिक यातना दिँदै आएका थिए । दाइजोकै निहुँमा निकिताको हत्या भएको विष्णुको दाबी छ । उनैले प्रहरी समक्ष किटानी जाहेरी दिएका हुन् । उनका अनुसार निकिताको टाउको, अनुहार र घाँटीमा गहिरो चोट लागेको थियो ।
विष्णुका अनुसार विवाहमा नगेन्द्रलाई आफूले ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र मोटरसाइकल दिएर उतापट्टिको सबै विवाह खर्च समेत आफैंले बेहोरेका थिए । पछिल्लो पटक उनले स्कोर्पियो गाडी किन्ने नाममा थप १० लाख रुपैयाँ दाइजो माग्दै आएका थिए । थप दाइजोका नाममा त्यत्रो रकम बुबा-आमाले दिन नसक्ने निकिताले जवाफ दिँदै आएकी थिइन् ।
नगेन्द्रले निकितासँग विवाह गर्न इनरुवा नगरपालिकाको विद्युत् शाखाको इन्जिनियर भएको र आफ्नो जागिर स्थायी भएको बताएका थिए । विवाहपछि उनी इन्जिनियर नभई विद्युत्को पोलमेन भएको र उनको जागिर स्थायी नभई करार सेवा भएको र नगरपालिकाले करार नवीकरण नगर्दा जागिर गएको भन्ने पोल खुलेपछि निकितासँग झगडा सुरु भएको विष्णुको भनाइ छ ।
दिदी माइत आएपिच्छे दाइजोका नाममा नगेन्द्रबाट दिनहुँ मानसिक र शारीरिक याताना खेप्न बाध्य हुँदै आएको बताउने गर्थिन् । उनलाई सासु, जठानी र नन्दले पनि दाइजोका नाममा यातना दिने गरेको बताएकी थिइन् । उनका कान्छा भाइ राहुलले भने, ‘थप दाइजोको निहुँले हत्याकै रुप लिन्छ होला भन्ने कल्पना पनि गरेका थिएनौं ।’ उनले निष्पक्ष रुपमा अनुसन्धान गरेर पीडित पक्षलाई न्याय दिन सुनसरी प्रहरीलाई अनुरोध गरेका छन् ।
प्रकाशित : आश्विन २, २०८० १३:४४