पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


मोरङ — मोरङको ग्रामथानमा शनिबार नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम सरदार थारुकी छोरी १२ वर्षीया समीक्षा र मनोज खवासकी छोरी १० वर्षीया रेजिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
दाहालका अनुसार दुवै बालिकालाई डुबेर सिकिस्त भएको अवस्थामा बिहान ११:३० बजेतिर स्थानीयले फेला पारेका थिए ।
घर नजिकै रहेको डा. रम्भा देवको माछा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको ग्रामथान वडा २ की सदस्य सुमनकुमार चौधरीले बताइन् । चौधरीका अनुसार उनीहरू २/३ दिनदेखि उक्त पोखरीमा नुहाउन जाने गरेको र शनिबार पनि नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । पोखरीमा नुहाउन गएका तीन जना बालिकामध्ये तुर्के खवासकी छोरी डिलमा बसिरहेकी थिइन् ।
पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका उनीहरूलाई उपचारका लागि स्थानीयहरूले विराटनगरको कोसी अस्पताल ल्याएका थिए । अस्पताल पुर्याउनासाथ चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको थियो ।
प्रकाशित : भाद्र ३०, २०८० १५:२६