१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

विश्वप्रकाश शर्माको प्रश्न- 'संसद्‍बाट एमाले किन भागिरहेको छ ?'

'सुनकाण्डमा एमालेले किन उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै संसद्‍ अवरोध गरेको छ ? एमालेले कस–कसलाई जोगाउन खोज्दैछ ?'
अर्जुन राजवंशी

बिर्तामोड — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा भ्रष्टाचारी र अपराधीलाई जोगाउन कुनै समिति बनाउन नदिने चेतावनी दिएका छन् ।

विश्वप्रकाश शर्माको प्रश्न- 'संसद्‍बाट एमाले किन भागिरहेको छ ?'

कसैलाई जोगाउनका लागि प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय समिति बनाउन माग गरिरहेको उनको आरोप थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका शर्माले एमालेलाई संसद्‍ फोबियाबाट मुक्त हुन पनि आग्रह गरेका थिए । एमालेले भ्रष्टाचारी र सुन ल्याउने आपराधिक गिरोहका मुख्य व्यक्तिहरुलाई उन्मुक्ति दिन उच्चस्तरीय समिति बनाउनुपर्ने माग राखेको शर्माको आरोप छ ।

उनले भ्रष्टाचारजस्तो गम्भीर मुद्दा उठान गर्नुपर्नेमा संसद नै अवरोध गरेर एमाले किन भागेको ? भन्दै प्रश्न गरेका थिए ।

‘नक्कली भुटानी शरणार्थी काण्डमा उच्चस्तरीय समिति बनाएको भए हामीले पनि हाम्रो मान्छे जोगाउन पहल गर्थ्यौं होला । तर, हामीले त्यसो गरेनौं । जो–जो संलग्न भेटिए उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ,’ शर्माले भने,‘त्यसैले सुनकाण्डमा पनि कुनै समिति बनाउन जरुरी छैन । प्रहरीले आफ्नो अनुसन्धान गर्न पाउनुपर्छ । संलग्नहरुलाई पक्राउ गरी जेल हाल्नुपर्छ ।’

सोमबार गृहजिल्ला झापाको अर्जुनधारा नगरपालिकास्थित कांग्रेस नगर सम्मेलनलाई सम्बोधन गर्दै शर्माले संसद प्रतिपक्षी दलको आवाज बुलन्द बनाउने स्थान भएको बताए । ‘संसद्‍बाट सरकार भाग्नुपर्ने हो । हामी सत्ता पक्षीय नेताहरु भाग्नुपर्ने हो । तर, एमाले किन भागिरहेको छ ? अध्यक्ष केपी ओली किन भागिरहेका छन् ?’ उनको प्रश्न छ । उनले ओलीलाई आवेगबाट मुक्त हुन पनि सुझाएका छन् ।

‘हाम्रो समर्थनको सरकारले नक्कली भुटानी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डका फाइल खोलेको छ । संलग्न देखिएका हाम्रै पार्टीका नेतालाई समेत पक्राउ गरिएको छ । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीलाई प्रहरीले बयान लिएको अवस्था छ । प्रहरीको अनुसन्धानमा हामीले कुनै हस्तक्षेप वा दबाब दिएका छैनौं । तर, सुनकाण्डमा एमाले किन उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै संसद्‍ अवरोध गरेको छ ? एमालेले कस–कसलाई जोगाउन खोज्दैछ ?’ उनले भने ।

प्रकाशित : भाद्र ४, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?