२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ज्यालावृद्धिका लागि ३ दशकदेखि चिया श्रमिकहरूको आन्दोलन

अर्जुन राजवंशी

झापा — मणि भुजेलले चिया बगानमा काम गर्न थालेको ३२ वर्ष भयो । २०४८ देखि कार्यरत उनले जिम्मेवारी निर्वाह गर्दै प्रत्येक दुई वर्षमा मालिकविरुद्ध नाराबाजी गर्नुपर्ने बाध्यता पनि छ ।

ज्यालावृद्धिका लागि ३ दशकदेखि चिया श्रमिकहरूको आन्दोलन

भुजेल सोमबार झापाको चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा आए । ज्यालावृद्धिलगायतको माग पूरा गर्न भन्दै मालिकविरुद्ध नाराबाजी गरे । काम थालेको दोस्रो वर्षदेखि नै उनी ज्यालावृद्धिको आन्दोलनमा सरिक हुँदै आएका छन् । दैनिक ज्याला १७ रुपैयाँबाट काम सुरु गरेका भुजेलले प्रत्येक दुई वर्षमा आन्दोलन मार्फत ज्याला बढाउँदै अहिले दैनिक ४ सय ३५ रुपैयाँ पाइरहेका छन् । यो ज्यालामा भुलेजले चार वर्ष काम गरिसकेका छन् ।

श्रम ऐन–२०७४ अनुसार गत साउन १ देखि नयाँ ज्याला कायम हुनुपर्ने हो । साउनको पहिलो साता बितिसक्दा समेत सरकार र रोजगारदाताले ज्यालावृद्धि नगरेपछि भुजेलसहितका झापाका चिया श्रमिक आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालावृद्धि, योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकृतलगायत ४ बुँदे माग राखी चिया श्रमिक असार ३१ देखि आन्दोलनमा छन् । तर आन्दोलन थालेको नवौं दिनसम्म उनीहरुको मागको सुनुवाइ भएको छैन ।

श्रमिकले माग सम्बोधन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र पठाएका छन् । उनीहरुले ४ बुँदे माग सम्बोधन गर्न ३० दिनको अल्टिमेटम समेत दिएका छन् । आगामी भदौ ७ भित्र माग पूरा नभए सम्पूर्ण चिया बगान तथा कारखाना बन्द गर्ने उनीहरुको चेतावनी छ ।

चिया श्रमिकले ज्यालावृद्धिका लागि लगातार तीन दशकदेखि आन्दोलन गर्दै आएका छन् । पञ्चायती व्यवस्था रहेसम्म चिया बगानका श्रमिकले ज्यालावृद्धिका लागि आवाज उठाउन सकेनन् । त्यसबेला बगान मालिकले दया–मायाले बढाइदिएकै ज्यालामा श्रमिक काम गर्न बाध्य थिए । महिलाले डेढ रुपैयाँ ज्याला पाउँदा मरद (पुरुष) को पौने दुई रुपैयाँ दैनिक ज्याला थियो । यो ज्याला बढेर दैनिक तीन रुपैयाँ पुग्यो । तीनबाट बढेर ७, ९, १२ हुँदै १७ रुपैयाँ पुग्यो ।

श्रमिकले २०४७ सम्म दैनिक १७ रुपैयाँ ज्यालामा चिया बगानमा काम गर्थे । २०४६/४७ को जनआन्दोलन पछि चिया बगानका श्रमिकले पनि ज्यालावृद्धिको आवाज उठाउन थाले । त्यसबेला पहिलो पटक उनीहरुले न्यूनतम ज्यालावृद्धिको माग राख्दै चिया मालिकहरु समक्ष मागपत्र बुझाएका थिए । माग पत्रपछि सतप्रतिशत वृद्धि भइ उनीहरुको न्यूनतम ज्याला ३२ रुपैयाँ पुगेको थियो ।

२०४७ पछि श्रमिकले प्रत्येक दुई/दुई वर्षमा ज्यालावृद्धिको माग गर्दै मागपत्रहरु बुझाउन थाले । मागपत्र नबुझाएसम्म उद्यमीहरुले उनीहरुको न्यूनतम ज्यालावृद्धि गरेनन् । श्रमिकको मागपत्र तथा आन्दोलनका कारण २०४९ मा न्यूनतम ज्याला दैनिक ४० रुपैयाँ तोकियो । यसरी नै श्रमिकको ज्याला ५४, ६०, ७२, ९५, १०२, १२७, १४५, १५५, १७२, २०२, २२७, २५३, २७८ हुँदै ४ सय ३५ रुपैयाँ पुगेको इतिहास छ ।

‘मैले काम थालेकै दोस्रो वर्षदेखि ज्याला बढाइपाऊँ भनी आन्दोलन गरेका थियौं,’ भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी टी स्टेटमा सरदारका रुपमा कार्यरत भुजेलले भने,‘प्रत्येक दुई वर्षमा एक पटक आन्दोलन गर्नैपर्छ । आन्दोलन नगरी कहिल्यै ज्याला बढेन ।’

ज्यालासँगै चिया श्रमिकका सबैखाले सेवा सुविधाका लागि आन्दोलन नै अन्तिम विकल्प हुँदै आएको श्रमिक बुधलाल हेमरमको दुखेसो छ । ‘सरकारले नियम कानुन बनाउँदा पनि सेवा सुविधा पाएनौं । दुई वर्षमा एक पटक आन्दोलन गर्नैपर्छ अनि मात्र ज्यालावृद्धि हुन्छ,’ उनले भने ।

ज्यालावृद्धिको विषयमा उद्योगी र श्रमिक गत फागुनदेखि असार २५ सम्म ६ पटक वार्तामा बसेका थिए । दुवै पक्षको आआफ्नो अडानका कारण सबै वार्ता बिना निष्कर्ष टुंगिएको थियो । श्रमिकले मूल्य वृद्धिका आधारमा हाल कायम दैनिक ज्याला ४ सय ३५ मा २० प्रतिशत अर्थात दैनिक ८७ रुपैयाँ थप ज्याला बढ्नुपर्ने माग राखेका छन् । उद्योगीले आर्थिक मन्दी, कोभिडलगायत समस्या झेलेको भन्दै दैनिक ज्यालामा बढीमा ३० रुपैयाँसम्म मात्र वृद्धि गर्न सकिने प्रस्ताव गरेका छन् ।

चिया उत्पादक उद्यमीहरू भने श्रमिकले माग गरे अनुसार ज्याला वृद्धि गर्न सक्ने अवस्था नरहेको बताउँछन् ।‘श्रमिकले मागेअनुसार ज्यालावृद्धि गर्न सक्ने अवस्थै छैन,’ चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भने,‘उत्पादित चियाको मूल्य छैन । चिया उत्पादनमा लागत मूल्य बढेको बढेकै छ । ८७ रुपैयाँ ज्याला कसरी बढाउनु ?’ श्रमिकको अहिलेको माग सम्बोधनमा सरकारको सहयोग आवश्यक रहेको उनी बताउँछन् ।

‘हामी त चिया क्षेत्र धान्नै नसक्ने अवस्थाबाट गुज्रिरहेका छौं । सरकारले सहयोग गर्‍यो भने श्रमिकको माग सम्बोधन होला, होइन भने हामी मात्रले केही गर्नसक्ने अवस्था म देख्दिनँ ।’

श्रमिकको माग सम्बोधनमा उद्योगी गम्भीर नभएको श्रमिक नेताको आरोप छ । ‘पटकपटक वार्तामा बस्दा पनि हाम्रो मागका विषयमा निष्कर्षमा पुग्न सकिएन,’ नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले भने, ‘हाम्रो आन्दोलनमा सरकार र उद्योगीको ध्यानाकर्षण होस् । माग सम्बोधनमा बेवास्ता भयो भने यसपटक पनि बगान र कारखाना ठप्प पार्न बाध्य हुनेछौं ।’

झापामा २०१६ देखि चिया खेती सुरु भएको इतिहास छ । २०२१ सालको भूमिसुधारले जग्गामा हदबन्दी कायम गरेपछि जिल्लामा चिया खेती लगाउन किसान अग्रसर भएका थिए । तर, चिया खेतीको व्यवसायिक विस्तार भने २०५३/५४ देखि भएको पाइन्छ । श्रमिकले चिया बगानमा न्यूनतम ज्याला एक रुपैयाँदेखि काम गरेको इतिहास छ । त्यसबेला महिला र पुरुषको ज्याला फरक फरक थियो ।

प्रकाशित : श्रावण ८, २०८० २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?