धनकुटा — धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी शुक्रबार दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् । बीआर १० एच ४९१० नम्बरको टाटा सुमो गाडी कोसी राजमार्गको धरान–धनकुटा खण्डको धनकुटा नगरपालिका-९ स्थित खुरिलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडीमा सवार धनकुटा नगरपालिका-४ स्कुलडाँडाकी १९ वर्षीया प्रिस्किला तामाङ, मोरङको जहदा गाउँपालिका-३ भातिगडा टोलका अजय महला र जहदा-४ का सुरेश मुखिया घाइते भएका छन् । घाइतेमध्ये तामाङको अवस्था जटिल छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य दुई जनालाई जिल्ला अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि सामान्य घाइते भएका महला र मुखिया भाग्दै गरेको अवस्थामा रुद्रबारीको जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । गम्भीर घाइते भएकी तामाङ इटहरी जानेक्रममा स्कुलडाँडाबाट लिफ्ट मागेर उक्त गाडीमा चढेको उनका बाबु प्रकाश तामाङले बताए । पाँच जना सवारमध्ये चालकसहित दुई जना भारतीय नागरिक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गाडीमा गाँजा बरामद
दुर्घटना भएको गाडीमा एक सय केजीभन्दा बढीको तयारी अवस्थाको गाँजा फेला परेको प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । गाडीको छतको भित्री भाग, चालक बस्ने सिट अगाडि र चेसिज रहेको भागमा लुकाएको अवस्थामा गाँजा बरामद गरेको डीएसपी कुँवरले बताए ।
भारतको कस्माहा गाउँपञ्चायत-३ जोगवनी ठेगाना उल्लेख भएको श्रवणकुमार यादवको नाममा जारी भएको सवारी चालक अनुमतिपत्रसमेत प्रहरीले बरामद गरेको छ ।
प्रकाशित : जेष्ठ २६, २०८० २२:१३