१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

खानेपानी समस्याले बीपी प्रतिष्ठानमा एक साता पठनपाठन बन्द

अर्जुन सुवेदी

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा खानेपानी समस्या भएपछि एक साताका लागि पठनपाठन बन्द गरिएको छ । प्रतिष्ठान हाताभित्र पानीको हाहाकार भएपछि मंगलबारदेखि एक साताका लागि विद्यार्थीहरुलाई बिदा दिइएको हो ।

खानेपानी समस्याले बीपी प्रतिष्ठानमा एक साता पठनपाठन बन्द

प्रतिष्ठानको अस्पताल र आवास तथा होस्टल क्षेत्रमा पर्याप्त खानेपानी आपूर्ति हुन नसकेको र विद्यार्थीहरुले पनि लिखितरुपमा नै अनुरोध गरेकोले एक साताका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको एसिस्टेन्ट डिन डा.भम्मी सिंहले जानकारी दिइन् ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जीव शर्माले पानी अभावमा अस्पताल सेवा प्रभावित हुन नदिन विद्यार्थीहरुलाई एक साता बिदा दिनुपरेको बताए । विद्यार्थीहरुको पठनपाठन पछि पनि गर्न सकिने तर बिरामीको उपचार रोक्न नसकिने जनाउँदै एक सातालाई बिदा दिइएको शर्माले प्रस्ट पारे । अत्यधिक गर्मी बढेको र पानी पनि अभाव भएको भन्दै विद्यार्थीहरुले नै लिखितरुपमा बिदाको माग गरेका थिए । प्रतिष्ठानका अनुसार हस्पिटल सञ्चालनमा मात्रै दैनिक १५ लाख लिटर पानी आवश्यक छ । आपूर्ति भने करिब ५ लाख लिटर छ ।

ट्यांकरबाट किनेर हस्पिटल सेवा सञ्चालन गर्नु परेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानलाई खानेपानी व्यवस्थापन बोर्डले पनि ट्यांकरबाट पानी उपलब्ध गराउँछ । त्यसबापत प्रतिष्ठानले बोर्डलाई वार्षिक रकम उपलब्ध गराउने सम्झौता रहेको छ । तर, बोर्डले उपलब्ध गराएको उक्त पानी पर्याप्त नभएको प्रतिष्ठानको दाबी छ । प्रतिष्ठानको होस्टलमा बसेर अध्ययन गरिरहेका १ हजार ५ सय विद्यार्थीहरुलाई बिदा दिएपछि हस्पिटल सेवामा पानी सहज हुने अपेक्षा गरिएको उपकुलपति डा.शर्माले बताए ।

धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले प्रतिष्ठानलाई पर्याप्त पानी दिएको दाबी गरेका छन् । खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगर प्रमुख साम्पाङले मंगलबार मात्र २१ लाख लिटर पानी दिएको बताए । दैनिक १५ लाख लिटरको सम्झौता भए पनि २१ लाख लिटर दिँदासमेत पानी अभाव भन्दै धरान उपमहानगरकै बेइज्जत गर्ने प्रयास भएको उनको आरोप छ ।

प्रकाशित : जेष्ठ २४, २०८० १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?