२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कोशी प्रदेश : एमाले नेतृत्वको सरकार छाड्न माओवादीमा अलमल

देवनारायण साह

मोरङ — सत्ता गठबन्धनको सरकारमा अधिकतम लाभ नपाउने देखेपछि कोशी प्रदेशमा माओवादी केन्द्र एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिएर सरकार छाड्न अलमलमा परेको छ ।माओवादी संसदीय दलको सोमबार बसेको बैठकमा सत्ता गठबन्धनको सरकार गठन हुँदा आलोपालोमा पनि मुख्यमन्त्री नपाउने र अहिले भएका मन्त्रालय पनि नपाउने अवस्थामा किन समर्थन फिर्ता लिने भन्दै चर्को बहस र छलफल भएको हो ।

कोशी प्रदेश : एमाले नेतृत्वको सरकार छाड्न माओवादीमा अलमल

तर संघीय गठबन्धनका आधारमा माओवादीलाई एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार छाड्नुको विकल्प नरहेको अवस्थामा अलमल भएको माओवादीका एक प्रदेश सांसदको भनाइ छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक गणेश उप्रेतीले दलको बैठकमा एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिने विषयमा भएको छलफल निष्कर्षमा नपुगेकाले पार्टीको प्रदेश कमिटीमा छलफल गरेपछि मंगलबार निर्णय लिने बताए । तर सत्ता गठबन्धनको सरकार गठनका लागि बैठकले दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा पहल समिति गठन गरिएको उनले सुनाए । ‘यसअघि प्रदेशको नामकरणको विषयमा दलले गरेको निर्णयले विवाद भएकोले यसपटक एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिनेबारे पार्टीको प्रदेश कमिटीमा छलफल गरेर परिपक्व निर्णय लिन्छौं,’ उनले भने, ‘एमाले नेतृत्वको सरकार छोड्ने र सत्ता गठबन्धनको सरकार गठन गर्नेबारे अहिले निर्णयमा पुग्न सकेनौं र यसको ठोस निर्णय पार्टीको प्रदेश कमिटीमा छलफल गरेर मात्रै हुन्छ ।’

बैठकमा प्रदेश सांसदहरूले सत्ता गठबन्धनको सरकारमा माओवादीको हैसियत के रहनेबारे प्रश्न उठाएका थिए । बैठकमा सहभागी एक सांसदले सत्ता गठबन्धनको सरकारमा आलोपालोमा पनि मुख्यमन्त्री पाउने अवस्था नरहेको र अहिले भएको राम्रो मन्त्रालय पनि नपाउने अवस्थामा किन एमाले नेतृत्वको सरकार छाड्ने प्रश्न उठेको बताए । ‘एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको अवस्थामा सभामुख बाबुराम गौतमले पनि राजीनामा दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसैले माओवादीले अहिले यस प्रदेशमा प्राप्त गरेको सबै उपलब्धि गुमाएर सत्ता गठबन्धनको सरकार गठन गर्ने कि नगर्ने ? भन्ने प्रश्न उठेको छ ।’

माओवादीबाट सभामुख भएका गौतम, एमाले नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईं र पर्यटन, वन तथा वातावरणमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ जीवन आचार्यले पद छाड्न नचाहेकाले पनि माओवादी अलमलमा परेको बैठकका सहभागी प्रदेश सांसदको भनाइ थियो । उनीहरूले केन्द्रीय गठबन्धनलाई चुनौती दिएर सत्तामा टिकिराख्न खोजेको हो तर त्यो धेरै दिन चल्ने अवस्था नरहेको ती सांसदले सुनाए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालको निर्देशनका अगाडि कसैको केही नचल्ने अवस्थामा अहिले बेकारमा अलमलको अवस्था सिर्जना गरेको उनको भनाइ थियो ।

माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा पर्ने छन् । यसअघि माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको निर्णय र निर्देशन आएपछि मात्रै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो । कांग्रेस संसदीय दलले माओवादी केन्द्रलाई मुख्यमन्त्री कार्की नेतृत्वको सरकार छाड्न र समर्थन फिर्ता लिन लिखित पत्र पठाएपछि उक्त निर्णय गर्न बाध्य भएको थियो ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कारण सातवटा प्रदेशमध्ये कोशीमा मात्रै एमालेले सरकारको नेतृत्व गरिरहेको छ । मुख्यमन्त्री कार्की नेतृत्वको सरकार माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा पुस २५ गते सरकार गठन भएको थियो । जसमध्ये जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट समर्थन फिर्ताको घोषणासँगै स्वास्थ्यमन्त्रीबाट प्रदेश सांसद निर्मला लिम्बूले राजीनामासमेत दिइसकेकी छन् । उनले राजीनामा दिएसँगै माओवादी केन्द्रलाई पनि समर्थन फिर्ता लिन सत्ता गठबन्धन र पार्टी केन्द्रीय नेतृत्वको चर्को दबाब रहेको छ ।

यता, राप्रपाले पनि सत्ता गठबन्धनमा मुख्यमन्त्री पाउने अवस्था आए एमाले नेतृत्वको सरकार छाड्ने बताउँदै आएको छ । राप्रपाका नेता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मन्त्री नै लिएर अहिलेको सरकार छाड्नुको औचित्य नभएको तर सरकारको नेतृत्व आएको अवस्था निर्णय लिने बताए ।

कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा(एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् । माओवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मात्रै कोशी प्रदेशमा सरकार फेरबदल हुने अवस्था निर्माण हुने छ । तर यो अवस्थामा माओवादीबाट सभामुख भएका बाबुराम गौतम निर्णायक हुनेछन् ।

प्रकाशित : जेष्ठ २२, २०८० २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?