जहाँ विद्यार्थी ओसार्न घरघरमा पुग्छन् शिक्षकहरू


सुनसरी — दक्षिणी सुनसरीको सीमावर्ती गाउँपालिका बर्जु–५ स्थित वीरेन्द्र चोकको महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् मुरारीप्रसाद घिमिरे । उनी हरेक दिन घरबाट विद्यालय जाँदा बाटोमा पर्ने सुब्बा टोलको बस्तीमा छिर्छन् । घरघर चाहार्दै बालबालिकालाई मोटर साइकलमा हालेर विद्यालयतिर हुइँकिन्छन् । यो बस्ती विद्यालयदेखि करिब डेढ किलोमिटर पूर्वदक्षिणतर्फ पर्छ ।


सुब्बा टोलबाट घिमिरेले एक पटकमा पाँच बालबालिकालाई विद्यालय पुर्याउँछन् । उनीहरुलाई विद्यालयमा छाडेर उनी करिब अढाइ किलोमिटर उत्तरमा पर्ने चम्म्राइ बस्तीमा पुग्छन् । त्यहाँ पनि उनी अभिभावकका घरदैलोमा पुग्दै बालबालिकालाई मोटर साइकलमा राखेर विद्यालय फर्कन्छन् ।
विद्यालय छुट्टी भएपछि घिमिरे पहिला चम्म्राइ बस्तीका नानीबाबुलाई घरमा छाडेर विद्यालय फर्किन्छन् । अनि आफू घर फर्कंदा सुब्बा टोलका विद्यार्थीलाई मोटर साइकलमा बोकेर हिँड्छन् । उनीहरुलाई पनि घरघरमा छाडेर मात्रै घिमिरे आफ्नो बासतर्फ लाग्छन् । घिमिरे कहिलेकाहीँ सुब्बा र चम्राइ बस्तीबाट एकै बिहान दुई/दुई पटक विद्यार्थी ओसार्छन् ।
घरमै लिन नगए विद्यालय आउँदैनन् विद्यार्थी
यो आधारभूत विद्यालयमा कक्षा ४ र ५ मा एक जना पनि भर्ना भएका छैनन् । कक्षा १ मा ११ जना, कक्षा २ र कक्षा ३ मा ७/७ विद्यार्थी छन् । तीमध्ये सुब्बा टोलका १३ जना र चम्राइ बस्तीका १२ जना हुन् ।
उक्त दुई बस्तीबाट विद्यार्थी नओसारे विद्यालयमा एक जनाको पनि उपस्थिति हुँदैन र त्यो दिन शिक्षक दिनभरी विद्यालयमा त्यतिकै बसेर घर फर्कनु पर्ने घिमिरेको भनाइ छ । उनका अनुसार विद्यालय वरपर बाक्लो बस्ती छ । तर त्यो बस्तीका बालबालिका करिब ८ किलोमिटर पूर्वमा पर्ने विराटनगरबाट विभिन्न निजी विद्यालयको नाम लेखेर आउने स्कुल बस चढेर हुइँकिन्छन् ।
यो विद्यालयमा सुब्बा टोल र चम्राइ बस्तीका दलित समुदायका २५ जना भर्ना भएका छन् । उनीहरुलाई लिन शिक्षक नगए कोही पनि विद्यालय आउँदैनन् । सुब्बा टोलका १३ जना विद्यालयमा भर्ना भएका छन् । ‘तीमध्ये आफू विद्यालय आउँदा पाँच जनालाई मोटर साइकलमा लिएर आउँछु,’ घिमिरेले भने, ‘बाँकी ८ जना छुट्छन्, कहिलेकाहीँ समय भएको बेला दुईपटक गरेर ओसार्छु तर पनि तीन जना छुट्छन् ।’ त्यसैगरी चम्राइ बस्तीमा १२ जना छन् । उनीहरुलाई प्राय: दुई पटक गरेर ओसार्छन् ।
यो विद्यालयमा घिमिरेसहित तीन शिक्षक छन् । घिमिरे विद्यालय नगएको दिन शिक्षिकाद्वय तृष्णा दाहाल र सुष्मा चौलागाई, अनि विद्यालय सहायक विद्यार्थी ओसार्न बस्तीमा पुग्छन् । ‘स्कुटर र साइकल लिएर विद्यार्थी ओसार्न बस्ती पुग्छौं,’ शिक्षिका तृष्णाले भनिन्, ‘दुई/चार जनालाई ल्याएर पढाउँछौं, बेलुका घरमा पुर्याएर फर्कन्छौं ।’
उनका अनुसार बस्तीमा पुग्दा कतिपयले खाना समेत खाएका हुँदैनन् । ‘खाना समेत खुवाएर ल्याउने गरेका छौं,’ उनले भनिन् । उनका अनुसार कयौं दिन एक जना पनि बालबालिका विद्यालयमा नआएपछि आफूहरु विद्यार्थी लिन बस्ती पुग्न थालेका हौं । ‘कहिलेकाहीँ आफूहरुले बस्तीबाट बालबालिका ल्याउन नभ्याउँदा प्रधानाध्यापकले सिटी रिक्सा पठाएर विद्यार्थी ल्याउँछन्,’ उनले भनिन् ।
बर्जु–५ मा यो विद्यालयसहित ५ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये एक माध्यमिक तहको छ । यहाँ दुईवटा धार्मिक र दुईवटा निजी विद्यालय छन् । महेन्द्र आधारभूत बाहेक सबै विद्यालयमा सरदर डेढ सयका हाराहारीमा विद्यार्थी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गफार मियाँका अनुसार आसपासका बालबालिका पढ्नका लागि विराटनगरका बोर्डिङ पुग्ने, बाँकी रहेका अन्य पनि स्थानीय निजी विद्यालय र मदरसामा जाँदा यो विद्यालयमा बालबालिकाको अभाव भएको हो ।
गफारका अनुसार उनीहरुलाई पनि शिक्षक स्वयंले ओसार्छन् । ‘शिक्षकले नओसारे विद्यालय दिनभर सुनसान हुन्छ,’ उनले भने । २०१३ सालमा स्थापना भएको यो विद्यालयको अस्तित्व विद्यार्थी अभावमा संकटमा परेको छ । विद्यालय आसपासका करिब ५ सय छात्रछात्रा विराटनगरका निजी विद्यालय पुग्छन् । गफारका अनुसार विराटनगरका विभिन्न १५ वटा निजी विद्यायका स्कुल बस विद्यार्थी लिन यहाँ दैनिक आउँछन् ।
विद्यालयको भौतिक पूर्वधार र शिक्षण विधि पनि राम्रै छ । विगतमा यही विद्यालयमा दुई सयभन्दा बढी बालबालिका भर्ना हुन्थे । स्थानीय अविभावक कृष्ण खड्काले भने अहिले आसपासका बालबालिका विद्यालयमा भर्ना नै हुँदैनन् । भर्ना भएका बालबालिकालाई पनि शिक्षक आफैंले ओसार्नुपर्ने बाध्यता छ ।
उनका अनुसार हुनेखानेका बालबालिका सबै विराटनगर पुग्छन् । त्यसबाट छुटेका स्थानीय निजीमा पुग्छन् । बाँकी रहेका दलित समुदायका बालबालिका यो विद्यालयमा भर्ना हुन्छन् तर उनीहरु विद्यालय नै आउँदैनन् र उनीहरुलाई शिक्षकले ओसार्नुपर्ने बाध्यता रहेको खड्काको भनाइ छ ।
बर्जु गाउँपालिकाभर २५ सामुदायिक विद्यालय छन् । तीमध्ये ६ मावि र १९ आधारभूत तहका छन् । पालिकाका शिक्षा शाखा प्रमुख बाबुराम कार्कीका अनुसार तीमध्ये बर्जु–५ को उक्त विद्यालय बालबालिका अभावमा बन्द हुने अवस्थामा छ । विद्यालय वरपर बाक्लो बस्ती छ । विद्यालयमा शिक्षण विधि राम्रो भए पनि त्यो बस्तीका प्राय सबै बालबालिका विराटनगर र स्थानीय निजी विद्यालयमा जाँदा यो विद्यालय विद्यार्थी विहीन भएको कार्कीको बुझाइ छ ।
उक्त विद्यालय भन्दा डेढ किलोमिटर पूर्वमा सार्वजनिक आधारभूत र दुई किलोमिटर पश्चिममा माध्यमिक विद्यालय छ । अर्को शैक्षिक सत्रमा पनि यो विद्यालयमा पढ्न आउने नबढे ती दुईमध्ये एकमा गाभ्ने तयारी भइरहेको उनले बताए । कार्कीका अनुसार यो पालिकामा वार्षिक १६ करोड रुपैयाँ शिक्षा क्षेत्रमा खर्च हुने गरेको छ ।
प्रकाशित : जेष्ठ २२, २०८० १६:२०