

उदयपुर — ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका अधिवक्ता इन्द्र तामाङको सजाय निर्धारण गरिएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजालसले अधिवक्ता तामाङलाई एक वर्ष कैद, १० हजार रुपैयाँ जरिवाना र ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको हो ।


बालकलाई कुटपिट गरेको आरोपमा दोषी ठहरिएका ५४ वर्षीय अधिवक्ता तामाङलाई अदालतले ज्यान मार्ने उद्योगका कसुरदार ठहर गरेको थियो । वालुबा छरेको भन्दै छिमेकी ७ वर्षीय बालकलाई कुटपिट गर्ने अधिवक्ता तामाङलाई वैशाख २७ गते बुधबार अदालतले कसुर ठहर गरेको हो । तामाङ २०७७ असार २२ गते छिमेकी बालकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा छुटेका थिए ।
न्यायाधीश सुवेदीको इजालसले अधिवक्ता तामाङलाई कसुर ठहर गर्दै एक वर्ष कैद, १० हजार जरिवाना र ३ लाख रुपैयाँ क्षतिपूर्ती दिलाउने आदेश भएको अदालतको सूचना अधिकारी बुद्धराज निरौलाले बताए । ‘तामाङलाई वैशाख २७ गते माननीय न्यायाधीश सुवेदीको इजलासले ज्यान मार्ने उद्योगमा दोषी ठहरेको थियो,’ सूचना अधिकारी निरौलाले भने, ‘सजाय भने बुधबारको इजालासले तोकेको हो ।’
कानुनमा ज्यान मार्ने उद्योग ठहर भएमा १० वर्षसम्म कैद सजायको व्यवस्था छ । बालकले खेल्ने क्रममा तामाङको घर अगाडि राखेको बालुवा छरेको आरोपमा कुटपिट गरेका थिए । अधिवक्ता तामाङले छोरालाई टाउकोमा गम्भीर चोट लाग्नेगरी ढुंगा प्रहार गरेको बालककी आमा सम्झना तामाङले बताउँदै आएकी छन् । बालकले सामान्य गल्ती गर्दा पनि तामाङले ज्यान नै मार्ने नियतले कुटपिट गरेको उनले बताउँदै आएकी थिइन् ।
पीडितले २०७९ जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गराएका थिए । घटनालगत्तै पक्राउ परेका तामाङलाई न्यायाधीश दिपक खनालको इजलासले साउन १२ गते ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । अदालतले सजाय निर्धारण गर्दै गरेको फैसलासँगै पीडितका आफन्तले न्यायको महसुस भएको बताएका छन् ।
पीडित बालककी आमा सम्झना अहिले कोसी प्रदेशसभाकी सांसद हुन् । उनी माओवादीको सामानुपातिक सूचीबाट सांसद बनेकी हुन् ।
प्रकाशित : जेष्ठ १७, २०८० १८:३६