३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भुटानी शरणार्थी मुद्दा उठाउन माग

बिर्तामोड — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा आफूहरूको स्वदेश फिर्ती मुद्दालाई समेत समावेश गर्न भुटानी शरणार्थीले माग गरेका छन् ।

भुटान स्वतन्त्र जनमञ्चले सोमबार विज्ञप्ति जारी गर्दै यो विषयमा समेत भारत सरकारका प्रतिनिधिसँग छलफल गर्न आग्रह गरेको हो । भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि नेपाल–भुटान वार्ताको वातावरण बनाउन अनुरोध गरेको मञ्चका महासचिव धनवीर (डीबी) सुब्बाले बताए ।

भुटानी शरणार्थी ३० वर्षदेखि पूर्वी नेपालको झापा र मोरङका शिविरमा छन् । एक लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, अस्ट्रेलियालगायत ८ वटा पश्चिमा देशमा पुनर्वास कार्यक्रमअन्तर्गत गए पनि शिविरमा अझै ६ हजारभन्दा बढी छन् । झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरे शिविरमा अझै ६ हजार ५ सय शरणार्थी रहेको सुब्बाले बताए ।

शरणार्थीको नाममा विभिन्न आपराधिक गतिविधिहरू भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै मञ्चले स्वदेश फिर्तीको अधिकारमाथि आँच पुग्न नहुनेमा जोड दिएको छ । हाल शिविरमा रहेकामध्ये स्वदेश फर्कन चाहनेहरूका तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ । मञ्चले भुटानी शरणार्थीको समस्याको दीर्घकालीन समाधानका लागि ‘सम्मानजनक स्वदेश फिर्ती’ को विकल्प अगाडि बढाउन ठोस पहलका लागि पनि आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ १७, २०८० ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?