लिची रुँग्न बारीको बास


झापा — १८ वर्षका लुकमान खानको हातमा गुलेली छ । झापा, भद्रपुर–७ को एक लिची aगान ओहोरदोहोर गरिरहेका उनले गुलेली तन्काउँदै भने, ‘चरा मार्ने हैन, लिची जोगाउने मेरो काम हो ।’ विर्तामोड–९ गरामनीका खान एक महिनादेखि झापा, भद्रपुर ७ को लिची बारीमै डेरा जमाएर बसेका छन् ।


विशेषगरी चमेरा र चराचुरुङ्गी तथा सर्वसाधारणहरुवाट लिची जोगाउने जिम्मेवारी उनको काँधमा छ । ‘मैले एक दानो लिची पनि तलमाथि हुन दिएको छैन’, खानले सुनाए, ‘साहुले दिएको ड्युटी त पूरा गर्नुपर्यो नि ।’
झापाका करिब ५० बढी साना, ठूला aगानमा अहिले खान जस्तै चौकीदारहरु भेटिन्छन् । उनीहरु बगानमै सुत्छन् । खाना पकाइतुल्याइ त्यतै गर्छन् । ‘सुत्न त पाइँदैन’, अर्का चौकीदार १६ वर्षका रमेश राजवंशीले सुनाए, ‘आलोपालो गरेर आराम गर्छौं ।’
खासगरी उनीहरु दिनमा भन्दा राति बढी सक्रिय हुन्छन् । जसरी स्तनधारी चमेरो रातमा सक्रिय हुन्छ । चमेरोबाट लिचीलाई जोगाउन हम्मे हुन्छ । त्यही भएर उनीहरु रातभरि जाग्रामै बस्छन् । ‘हुल बाँधिएर आएका चमेराले लिची सखापै पार्छ’, राजवंशीले भने,‘टर्च लाइट बालेर चमेरा भगाउँछौ ।’ दिनमा भने सुगा, लगायतका अन्य चराचुरुङ्गीले लिचीमाथि आक्रमण गर्छन् । चराचुरुङ्गीलाई गुलेलीको साहाराले लखेटिन्छ ।
लिचीको चौकीदारी गरेबापत उनीहरुले दिनको ६ सय रुपैयाँ ज्याला पाउँछन् । खाने सुविधा पनि ठेकेदारले नै व्यहोर्छन् । लिची व्यापारी तथा ठेकेदार नसिब खानले लिची रुँग्ने चौकीदारलाई प्रतिव्यक्ति मासिक १८ हजार रुपैयाँ र खाने प्रबन्ध गरिएको जनाए । ‘कम पैसामा रातभरि जाग्राम बस्ने मान्छे पाइँदैन’, खानले सुनाए, ‘लिचीमा फल लाग्न थालेदेखि नै चौकीदार खटाउनु पर्ने हुन्छ ।’
विगत ५ वर्षदेखि झापाका साना, ठूला सबै लिची बगान ठेक्का लिँदै आएका नसिब खानका अनुसार यो वर्ष हावाहुरी र असिनाले लिची उत्पादनमा ठूलो क्षति पुर्यायो । गत वैशाख १७ को हावाहुरीले फल लागिसकेका लिचीका बोटसहित क्षति गरेको थियो । ‘झापाभरि नै हावाहुरी र असिनाले लिची सखाप पार्यो’, उनले बिलौना सुनाए, ‘अब अलिअलि मात्रै बाँकी छ ।
फल्न त शतप्रतिशत नै फलेको थियो लिची । तर, हावाहुरीले ७५ प्रतिशत उत्पादनमा क्षति पुगेको उनको दाबी छ । ‘फूल खेल्दैदेखि हावाहुरीले समस्या भयो’, उनले थपे, ‘पाक्ने बेलामा फेरि क्षति भयो ।’
झापामा उत्पादित सबै लिची काठमाडौं पुग्छ । काठमाडौं पुर्याउँदा व्यापारीले दोब्बरतेब्बर आम्दानी गर्छन् । यसपटक भने लगानी पनि उठाउन हम्मे पर्ने ठेकेदार खानले बिलौना सुनाए । ‘झापाभरि करिब २५ लाख हाराहारी लगानी भएको छ’, उनले थपे, ‘खर्च कटाएर लगानी उठाउनै गाह्रो छ यसपटक ।’
झापामा जेठ २५ सम्ममा लिची पाकिसक्छ । पाकेको लिची टिपेर काठमाडौं पठाएपछि ठेकेदार खान चौकीदारसहित गोरखातिर लाग्छन् । गोरखामा करिब ८ सय बोट लिची बगानमा करिब १० लाख लगानी भएको छ । ‘झापामा डुबेका लगानी गोरखाको बगानबाट उठाउने लक्ष्य छ’, खानले भने ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार गत वर्ष ९८ हेक्टर जमिनमा विस्तार भएको खेतीबाट करिब ७ सय २२ मेट्रिक टन लिची उत्पादन भएको थियो। सूचना अधिकारी गणेश शिवाकोटीकाले भने, ‘लिची खेती विस्तार भएको छैन । तसर्थ यो वर्ष पनि गत वर्षकै हाराहारीमा उत्पादन हुने अनुमान छ ।’ झापामा प्रति हेक्टर ८ दशमलव ५० मेट्रिक टन लिची उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको दाबी छ ।
प्रकाशित : जेष्ठ १६, २०८० १४:१५