कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आन्दोलनकारीसँग तत्काल वार्ता गर्नुपर्ने कोशीका सांसदको माग

पहिचान पक्षधरको आन्दोलनमा ५८ जना घाइते
देवनारायण साह

मोरङ — कोशी प्रदेशमा आइतबारबाट बजेट अधिवेशन सुरु भएको छ । प्रदेशसभा बैठकमा सहभागी प्रदेशसभा सदस्यहरुले शून्य समयमा बोल्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आहृवान गरेको प्रदेशसभा घेराउ कार्यक्रमका कारण प्रदेशसभा सदस्यहरु पहिचान लुकाएर बैठकमा सहभागी हुन आउन बाध्य भएकाले तत्काल आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

आन्दोलनकारीसँग तत्काल वार्ता गर्नुपर्ने कोशीका सांसदको माग

प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य सम्शेर राईले यस प्रदेशको नाम कोशी राखेदेखि प्रदेशभरि तनावको अवस्था उत्पन्न हुँदा पनि प्रदेश सरकार मौन बसेको भन्दै आलोचना गरेका हुन् । ‘कोशी प्रदेशमा असन्तुष्टि राखेर आन्दोलन गर्ने यही प्रदेशका नागरिक हुँदाहुँदै पनि सरकारले किन बेवास्ता गरिरहेको छ ?,’ उनले भने, ‘आन्दोलनकारीको असन्तुष्टि सुन्नका लागि वार्ता टोली गठन गर्न प्रदेश सरकारलाई कसले रोकेका छन् ? किन भइरहेको छैन ? वार्ता नहुँदा प्रदेश अशान्त बनेको छ र यसले सुखद् परिणाम नदिने भएकाले तत्काल वार्ता गरियोस् ।’

प्रदेशसभा सदस्यहरु कमलप्रसाद जबेगु, कमला थापा, खगेनसिंह हाङगाम, गणेश उप्रेति, गोपाल तामाङ, गोपालबहादुर विश्वकर्मा, शोभा पालुङ्वा, मैया श्रेष्ठलगायतकाले सरकारले आन्दोलनरत पक्षसँग वार्ता नगरेकाले प्रदेशभरिको अवस्था भयावह बन्दै गएको बताए । उनीहरुले यस प्रदेशको नाम कोशी पारित भएदेखि प्रदेशसभा सदस्यहरु पहिचान लुकाएर हिंड्डुल गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाले तत्काल वार्ता गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम कोशी राख्नु सुखद् नभएको बताए । उनले पहिचान पक्षधरको माग सम्बोधन हुने गरी सरकारले तत्काल पहल गर्नु आवश्यक रहेको बताए । प्रदेशसभामा जनता समाजवादी पार्टीकी एकल सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बूले प्रदेशसभामा कोशी प्रदेशको विपक्षमा मतदान गरेकाले सरकार पक्ष र सरकारमा बसेकाले आन्दोलनरत पक्ष दुबैको निसानामा परेको बताइन् । ‘पहिचान पक्षधरको पक्षमा सदनमा बोल्दै आएकाले सरकार पक्षले आन्दोलनकारीको दृष्टिकोणले हेर्ने गरेको र सरकारमा बसेकाले आन्दोलनकारीले सत्ता पक्षको दृष्टिकोणले हेर्ने गरेका छन्,’ उनले भनिन्, ‘आन्दोलनका क्रममा आन्दोलनकारीले मन्त्रालयको झ्यालका सीसा र गाडीमा तोडफोड गरिदिएको र सुरक्षाकर्मीले गरेको हवाई फायर आफ्नो कार्यकक्षमा झ्याल छेडेर दुई वटा गोली आएर झण्डै ज्यान जोगियो ।’ उनले आफ्नो सुरक्षा कसको दायित्वअन्तर्गत पर्छ र किन नभएको भन्दै प्रदेशसभामा प्रश्न उठाइन् ।

कांग्रेसका संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नाममा असन्तुष्टि राखेर भइरहेको आन्दोलनलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् । उनीहरुले पनि सरकारले तत्काल आन्दोलनरत पक्षसँग वार्ता गर्न ध्यानाकर्षण गराए । एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुको समर्थनमा प्रदेशको नामकरण प्रदेशसभाबाट पारित भएको तर अहिले बाहिरको परिस्थिति हेरेर दलहरुले बोल्न थालेको बताए । ‘प्रदेशसभाबाट पारित भएको विषयमा प्रदेश सरकारले वार्ता गर्नु उचित होला ?,’ उनले भने, ‘त्यसैले प्रदेशसभाले पारित गरेको यो विषयमा सदनबाटै वार्ता समिति गठन गर्नु उपयुक्त होला कि भन्ने विषयमा स्पष्ट हुनु सबैका लागि आवश्यक छ ।’

प्रदेशसभाबाट प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । यो विधेयक पारित भएसँगै अब प्रदेशसभाबाट जारी भएको प्रदेक ऐनमा प्रदेश १ को ठाउँमा कोशी प्रदेश हुने भएको हो । सदनमा केही सांसदहरुले प्रदेशको नाम संशोधन गर्नुपर्ने बोल्दै आए पनि प्रदेशको ऐनमा प्रदेश १ को ठाउँमा कोशी राख्ने विधेयकमा कसैले पनि असहमति राखेनन् । प्रदेश निजामति सेवा र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश र प्रदेशसभा नियमावलीको मस्यौदा प्रदेशसभामा पेश भएको छ ।

पहिचान पक्षधरको आन्दोलनमा ५८ जना घाइते

कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरस्थित प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा नेपाल प्रहरीका ३०, सशस्त्र प्रहरीका १६ र प्रदर्शनकारी १२ गरी ५८ जना घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित कोशी, न्यूरोलगायतका अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले बताए । आन्दोलनकारीले आइतबार बिहानै निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजे पछि ४५ जनालाई नियन्त्रणमा लिएका थिए । त्यसपछि प्रदेशसभा सुरु हुने समयमा यस प्रदेशका विभिन्न जिल्लाबाट विराटनगर आएका आन्दोलनकारीहरुले देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभा घेराउ गर्न आउने क्रममा झडप भएको थियो ।

आन्दोलनकारीले बाँसको भाटा, गुलेली, ढुंगा, बोतल प्रहार गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए । सुरुमा प्रतिरक्षात्मक देखिएका प्रहरीले आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि अश्रुग्यास ९४ सेल प्रहार गरेका थिए । त्यपनि स्थिति नियन्त्रणमा नआएपछि पानीको फोहोरा प्रहार गरेका थिए । आन्दोलनकारी उग्र बनेपछि प्रहरीले ३८ राउण्ड हवाइ फायर गरेको प्रजिअ यादवले बताए । प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा समेत ढुंगामुढा गरेर मन्त्रालयका झ्यालका सीसा र मन्त्रालय परिसरमा रहेका मन्त्री निर्मला लिम्बू चढ्ने बा२झ ३०८९ र स्वास्थ्य निर्देशनालयका बा२झ ३१२८ नम्बरको गाडीलगायत मोटरसाइकल तोडफोड गरेका छन् ।

स्वास्थ्यमन्त्री लिम्बूको कार्यकक्षमा दुई राउण्ड गोलीसमेत चलेको छ । मन्त्रीको कार्यकक्षमा प्रहार गरिएको गोली सुरक्षाकर्मीले गरेको हवाइ फायर हो वा अन्य कसैले चलाएको अनुसन्धान हुन बाँकी रहेको प्रजिअ यादवले बताए । प्रहरीले बाहिर जिल्लाबाट आउने सवारी साधनलाई राजमार्गदेखि नै जाँच गर्दै आन्दोलनकारीको सवारी रोकेका थिए । तर आन्दोलनकारीहरु विराटनगर आउन सफल भएका थिए । स्थानीय प्रशासनले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय र निवासलगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका छन् ।

प्रजिअ यादवले पक्राउ परेका आन्दोलनकारीहरुलाई बिनासर्त रिहाइ गर्ने अवस्था नभएको बताए । उनले मन्त्रालयलगायत क्षेत्रमा क्षति हुनुका साथै सुरक्षाकर्मीहरुलाई गम्भीर घाइते बनाएकाले पक्राउ परेकाहरुलाई कारबाहीको दायरामा ल्याउने बताए ।

प्रकाशित : जेष्ठ १४, २०८० २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?