मकालु बेस क्याम्पमा एक जनाको मृत्यु


संखुवासभा — सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए ।


उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्ट विदेशी आरोही टोलीको भरियाको रुपमा खटिँदै आएका थिए ।
'उनी मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए,' वडाध्यक्ष शेर्पाले भने ।
विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकोप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको उनले बताए ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्छ । घटनाका बारेमा शनिबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।
प्रकाशित : जेष्ठ १३, २०८० १७:३२