महसुल नतिर्ने धाराको लाइन काट्न थालियो 

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको सदरमुकाम फिदिम बजार र आसपासका क्षेत्रमा खानेपानीका महसुल नबुझाउने उपभोक्ताका धाराको लाइन काट्न थालिएको छ । 

फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तीन महिनाभन्दा धेरै महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्न थालेको हो । ‘तीन महिनासम्म नियमित महसुल नतिर्नका साथै दस हजार रुपैयाँभन्दा धेरै बक्यौता रहेका ग्राहकको धारा काट्न थालेका छौं,’ उपभोक्ता समिति अध्यक्ष प्रकाश गुरुङले भने ।

गुरुङका अनुसार फिदिम नगरपालिका वडा नम्बर १, २ र ४ नम्बर वडामा २ हजार ६ सय उपभोक्ताका घरमा धारा जडान गरिएको छ । तीमध्ये एक हजारभन्दा धेरै ग्राहक नियमित महसुल तिर्दैनन् । उपभोक्ता समितिको तथ्यांकअनुसार हाल ५६ लाख रुपैयाँ महसुल उपभोक्ताका नाममा बक्यौथता छ । पटक-पटक अनुरोध गर्दा पनि महसुल नबुझाएपछि धारा काट्न थालिएको गुरुङले बताए । ग्राहकका नाममा १० हजारदेखि ३ लाख ५२ हजार रुपैयाँसम्म बक्यौता छ । सबैभन्दा धेरै पाँचथर जिल्ला अदालतले मात्रै ३ लाख ५२ हजार रुपैयाँ तिर्न बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

फिदिम बजार र आसपासमा वितरण भएको खानेपानी एशियाली विकास बैंकको ऋण सहयोगमा १६ किलोमिटर टाढा पर्ने आप्तावाखोला मुहानबाट ल्याइएको हो ।

महसुल नउठ्दा विभिन्न निकायबाट लिएको सापटी र ऋणको किस्ता तिर्न कठिनाई भएको भन्दै समितिले धारा काट्ने निर्णय गरेको हो । पटक-पटक महसुल बुझाउन अनुरोध गर्दा अटेर गर्ने २६ जना ग्राहकका धारा यो साता काटिएको समितिले जनाएको छ । धारा काट्न थालिएपछि बिलम्ब शुल्कसहित ३३ लाख रुपैयाँ महसुल जम्मा भएको बताइएको छ ।

समितिको आग्रह नमान्ने, शुल्क बुझाउन अटेर गर्ने र सम्पर्कमा नआउने ग्राहकका धारा काट्ने अभियानलाई निरन्तरता दिने योजना अध्यक्ष गुरुङले सुनाए । धारा काटिएपछि महसुल बुझाउने उपभोक्ताका धारामा तत्काल पानी जोड्ने गरिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

संस्कृत विश्वविद्यालयसँगै ज्योतिष शिक्षण पनि प्रविधिमैत्री हुनु आवश्यक छ : अधिकारी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीले विश्वविद्यालयसँगै ज्योतिष शिक्षण पनि प्रविधिमैत्री हुनुपर्ने बताएका छन् । विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठमा बिहीबारदेखि सुरु भएको ‘ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग’ विषयक दुईदिने गोष्ठीमा बोल्दै कुलसचिव अधिकारीले अबको केही समयमै विश्वविद्यालय डिजिटल युगमा प्रवेश गर्न लागेको उल्लेख गर्दै ज्योतिषशास्त्रको शिक्षण सिकाइ पनि आधुनिक र प्रयोगात्मक तरिकाबाट गर्नुपर्नेमा जोड दिए ।

वाल्मीकि विद्यापीठ ज्योतिष विभाग र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आयोजित गोष्ठी आधुनिक प्रविधिको उच्चतम उपयोग गर्दै ज्योतिषीय विषयको शिक्षण गर्नुपर्ने र प्रयोगात्मक सिकाइलाई पनि जोड दिनुपर्नेलगायत विषयमा केन्द्रित रहेको वाल्मीकि विद्यापीठ, ज्योतिष विभागका विभागाध्यक्ष प्रा. धनेश्वर नेपालले बताए ।

विभागाध्यक्ष नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. देवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अधिकारीले संस्कृतभित्र लुकेको विशाल ज्ञानराशिलाई बाहिर प्रकट गर्नुपर्ने भन्दै संस्कृत शिक्षाको विकासप्रति सबैजसोको सद्भाव रहेको उल्लेख गरे ।

उनले भने, ‘संस्कृत शिक्षाको बारेमा कुरा गर्दा कसैले पनि विरोध गर्दैनन् । यसले सबैको सद्भाव, सहानुभूति र माया पाएको छ । नेपाल सरकार पनि संस्कृत संस्कृतमैत्री भएकाले संस्कृतविद्याका महत्त्वपूर्ण ज्ञानराशिलाई हरेक विभाग र विद्यापीठले बाहिर ल्याउनुपर्छ । अनुदान आयोग त्यसमा हरेक किमिसबाट साथ दिन तयार छ ।’


गोष्ठीमा सहभागीहरू

कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. भागवत ढकालले नेपाल संस्कृत विश्वविद्यालयमा ज्योतिषशास्त्र पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको र यस क्षेत्रलाई गुणात्मक ढंगबाट पनि विस्तार गर्नुपर्ने धारणा राखे ।

उद्घाटनसत्र र कार्यपत्र प्रस्तुति सत्रका रूपमा विभाजित बिहीबारको गोष्ठीमा दोस्रो सत्रको शुभारम्भ नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले ‘शास्त्रीस्तरीय ज्योतिष शिक्षण र शिक्षण सामग्री’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सिद्धान्त ज्योतिष र फलित ज्योतिषमा पढाइ हुने विभिन्न विषयहरूलाई तिनको प्रकृतिअनुसार छुट्टाछुट्टै शिक्षण विधि र सामग्रीको उपयोग गरेर शिक्षण गर्नुपर्नेमा प्रा. अधिकारीको जोड थियो ।

यसै गरी उक्त समारोहमा उप.प्रा. नारायणप्रसाद निरौलाले ‘ज्योतिषमा प्रविधि’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । प्रविधिले फड्को मारेको अहिलेको युगलाई स्मरण गराउँदै निरौलाले ज्योतिषशास्त्रलाई पनि नयाँ प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

त्यस्तै गोष्ठीको अन्तिम दिन शुक्रबार विभागाध्यक्ष प्राध्यापक धनेश्वर नेपालले ‘मानव जीवनमा ग्रहको प्रभाव र महत्त्व’, प्राध्यापक जयन्त आचार्यको ‘ज्योतिषमा धूपघडीको उपयोगिता’ उपप्राध्यापक कपिलदेव भट्टराईले ‘अधिमास-क्षयमास विवेचना’ र उपप्राध्यापक तनुजा दाहालले ‘जातकशास्त्रको शिक्षण विधि र समस्याहरू’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०८० १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×