६१ लाख बराबरको सुनचाँदी चोरीको आरोपमा ३ जना पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — साताअघि विराटनगरको एक घरबाट ६१ लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । विराटनगर–१२ स्थित कोशी प्रोजेक्टको सडक खण्डमा स्थानीय २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दासलाई बुधबार राति मोरङ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट दुई झोलामा ३५ किलो चाँदी, ८ ग्राम सुन, २ हजार ५ सय भारु, १ हजार ७ सय ३० नेरु र २ वटा मोबाइल बरामद भएको छ ।

विवेक यसअघि पनि चोरी मुद्दामा २०७९ साउन २२ देखि ९ महिना कारागार बसेर छुटेका थिए । अर्का आरोपी दास पनि डाँका चोरी मुद्दामा २०७७ को २९ पुसदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर छुटेको प्रहरीले जनाएको छ । उनीहरुले पुनः ३ जेठको राति विराटनगर–३ पिपलचोकस्थित सुनचाँदी व्यवसायी जयकिशोर चौधरीको घरबाट करिब २० लाख रुपैयाँको २० तोला सुन र झन्डै ४१ लाख रुपैयाँ बराबरको ३६ किलो चाँदी चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाख भारुमा बेचेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

चोरीका सामग्रीसहित उनीहरु तीन दिन विराटनगरको एक होटेलमा बसेपछि भारततिर लागेका थिए । पक्राउ परेका विवेकले स्थानीय अन्य घरमा समेत चोरी गरेको स्वीकारेकाले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरुले बाटामा भिडभाड नहुने र छरछिमेक व्यस्त हुने समयमा घरभित्र छिरी चोरी गर्थे । चोरीका आरोपितहरुले घरको सम्पूर्ण कोठा खानतलासी गरी सुनचाँदी तथा गरगहनामात्र लिएर जाने गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

यस्तै चोरीको सामान व्यवस्थापनका लागि उनीहरुले कोठा वा होटेलमा बस्ने गरेको र घटना सामसुम भएपछि भारततिर लाग्ने गरेको देखिएको छ । उक्त घटना अनुसन्धानमा संलग्न ७ प्रहरी अधिकृतसहितको टोलीलाई मोरङ प्रहरीले पुरस्कृतसमेत गरेको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १९:०९
प्रतिक्रिया
पठाउनुहोस्

अतिकम विकसितबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने प्रभावबारे महासंघ अध्यक्ष र राष्ट्रसंघ आवासीय संयोजकबीच छलफल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने प्रभावबारे छलफल भएको छ । अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति हुँदा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्न ढकालले सिंगरलाई आग्रह गरे ।

साना तथा मझौला उद्योग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँग समन्वयका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको छ । छलफलमा सिंगरले दिगो विकासका लक्ष्य कार्यान्वयन सम्बन्धमा भइरहेका प्रगतिबारे जिज्ञासा राखेका थिए ।

महासंघको नयाँ नेतृत्वले अघि सारेका पाँच प्रमुख प्राथमिकताबारे पनि ढकालले अवगत गराएका थिए । महासंघको नयाँ नेतृत्वले आर्थिक संकट समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताइन् । आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोका रुपमा हेरिएको उल्लेख गरिन् । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार फार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुत्त राष्ट्रसंघले सहकार्य गर्न सक्ने उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ ११, २०८० १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×