कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जंगल अतिक्रमण गर्दै संरचना

विनोद भण्डारी

विराटनगर — अतिक्रमणको चपेटामा परेर झण्डै ८ हजार हेक्टर क्षेत्रफल घटिसकेको मोरङको चारकोसे जंगल स्थानीय तहले पनि सम्बद्ध कार्यालयलाई जानकारी नदिई अतिक्रमण गरी संरचना बनाउने क्रम बढेको छ ।

जंगल अतिक्रमण गर्दै संरचना

यहाँको कानेपोखरी गाउँपालिकाले संघीय सरकारबाट आएको बजेटले वन कार्यालयसँग समन्वय नगरी चारकोसे जंगलको जमिन अतिक्रमण गरेर संरचना निर्माण गरेपछि वनले रोकेको छ ।

मोरङ क्षेत्रमा पर्ने चारकोसे जंगलको कुल क्षेत्रफल ५५ हजार ५ सय हेक्टर रहेकोमा फिनल्याण्ड सरकारको सहयोगमा पछिल्लो पटक गरिएका एरियल सर्भेमा ४८ हजार ६ सय हेक्टर मात्र कायम रहेको उल्लेख छ । घटेको क्षेत्रफल मोरङको सुन्दरहरैचा, वेलवारी, कानेपोखरी, लेटाङ, पथरी शनिश्चरे, उर्लावारी, केरावारी, मिक्लाजुङ लगायतका स्थानीय पालिकामा पर्छ र त्यहाँ बाक्लो बस्ती बसेको छ ।

यसै क्रममा कानेपोखरी गाउँ पालिकाले संघीय सरकारबाट उपलब्ध तराई मधेस समृद्धि कार्यक्रमको ४९ लाख ८४ हजार रुपैयाँ बजेटले चारकोसे जंगलको जनजागृति सामुदायिक वनको क्षेत्रमा पर्ने करिब चार कठ्ठा जमिन अतिक्रमण गरेर जंगलभित्र कृषि बजार निर्माण गरेको छ । वन कार्यालयले उक्त जमिन आफूलाई जानकारी नदिई पालिकाले जमिन अतिक्रमण गरेर टहरा बनाउने भन्दै निर्माण कार्य रोकेको छ ।

सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख मोहमद अलाउद्धिनका अनुसार गाउँपालिकाले चारकोसे जंगलको करिब ४ कठ्ठा जमिनमा वन कार्यालयलाई जानकारी नै नदिई टहरा बनाएको पुष्टी गर्दै त्यसलाई कार्यालयले रोकेको बताए । उनले पालिकालाई वन कार्यालयले मौखिक र लिखित रुपमा टहरा निर्माण कार्य रोक्न आग्रह गरेको छ । त्यही क्षेत्रमा वनको करिब एक हेक्टरभन्दा बढी जमिन अतिक्रमण गरेर बस्ती बसेको अलाउद्धिनको भनाइ छ ।

गाउँपालिकाले तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत क्रमागत रुपमा उपलब्ध भएको ४९ लाख ८४ हजार रुपैयाँ बजेट कृषि बजार निर्माणका नाममा जंगलको जमिन अतिक्रमण गरेर दोहन गरेको स्थानीयवासीको गुनासो छ । पालिकाको बस्ती निर्माणाधीन बजारदेखि १५ किलोमिटर टाढा दक्षिणसम्म पर्छ । स्थानीय भूपेन्द्र तामाङले भने बजार पालिकाको टुप्पोमा पर्ने जंगलमा निर्माण गरिएको छ । त्यो बजार पालिकाका किसानका लागि अपायक पर्छ ।

पालिकाले पहिलो चरणमा आर्थिक वर्ष २०७८/०७९ मा एसएनए निर्माण सेवा दुहबी सुनसरीलाई ठेक्का दिएर २५ लाख ३ हजार ६३ रुपैयाँमा ४३.५ वर्गमिटरको दुई वटा टहरा निर्माण गरेको छ । क्रमागत बजेट आएपछि २०७९/०८० मा पनि कृषि बजारको अधुरो संरचना निर्माणको लागि २४ लाख ८४ हजार २ सय ३८ रुपैयाँमा त्यही निर्माण कम्पनीलाई ठेक्का दिएर वैशाख २६ गते सम्झौता गरेर निर्माण कार्य सुरु गरेलगत्तै वन कार्यालयले रोक लगाएको हो ।

यही कृषि बजार पालिकाको भङसावारी, वयरवन, केरौन, रमाईलो तथा दलेलीमा निर्माण गरेको भए स्थानीय कृषकलाई आफनो उपज विक्री गर्न सजिलो हुने थियो । स्थानीयका अनुसार हाल निर्माण गरिएको बजारमा उक्त स्थानका किसानले आफनो उपज बिक्री गर्न ल्याउन सक्ने स्थिति नै छैन ।

पहिलो चरणमा २५ लाखमा दुईवटा पिलपिले टहरा बनाएर पालिकाले बजेट दोहन गर्‍यो । स्थानीयका अनुसार यसपालि पनि २३ लाख ८४ हजारको लागतमा दुईवटा त्यस्तै टहरा बनाएर बजेट दोहनको क्रम सुरु भएलगत्तै वन कार्यालयले रोक लगायो ।

गाउँपालिकाले कृषी बजार भनेर निर्माण गरिएको स्थान चारकोसे जंगलमा पर्छ । यो स्थान पालिकाका किसानका लागि पायक पर्ने ठाउँ होइन । तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको पालामा कृषि बजार निर्माण गर्ने भन्दै जंगल अक्रिमण गरेर संरचना बनाउना लाग्दा स्थानीयले आलोचना पनि गरेका थिए । तर नेतृत्वले जर्बजस्ती संरचना बनाउन सुरु गरेर बजेटको दोहन गरेको पालिका स्रोतको भनाइ छ ।

पालिकाकी अध्यक्ष राजमती इङनामले स्थानीयको माग अनुसार कृषि बजारको लागि संरचना निर्माण गरिएको दाबी गरिन । संघीय सरकारबाट आएको बजेटले पालिकाका किसानले उत्पादन गरेको कृषि उपज बिक्री वितरणको लागि स्थानीयको सुझावका आधारमा त्यसबेला संरचना निर्माण गर्न कानेपोखरी बजार छनोट गरिएको थियो । त्यसबेला उपाध्यक्ष रहेकी इङनामले भनिन् पहिला काम भएको स्थानमा पुन: थप लगानी गर्दा बनले रोकेको छ ।

उनले वनले पहिला त्यही स्थानमा संरचना बनाउन दिएको र अहिले त्यही प्रयोजनाका लागि संघीय सरकारबाट थप बजेट आएर दोस्रो चरणमा थप संरचना निर्माण गर्दा वनले रोक लगाएको उल्लेख गर्दै यसबारे वनसँग समन्वय गरेर कामलाई अगाडि बढाउने तयारी रहेको बताइन् ।

प्रकाशित : जेष्ठ १०, २०८० २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?