१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्घटनापछि भागेका चालक पौडी खेलिरहेको अवस्थामा पक्राउ

लक्ष्मी गौतम

पाँचथर — ट्र्याक्टर दुर्घटनामा दुई बालिकाको मृत्यु भएपछि फरार भएका चालक पक्राउ परेका छन् । स्थानीय हेवा खोलादेखि बालुवा बोकेर भारपातर्फ जाँदै गरेको ट्र्याक्टरमा चढेका दुई छात्रालाई चक्काले किचेर मृत्यु भएपछि चालक प्रेम कामी फरार थिए ।

दुर्घटनापछि भागेका चालक पौडी खेलिरहेको अवस्थामा पक्राउ

कुम्मायक गाउँपालिका निवासी प्रेम कामीले मे १ त २९६१ नम्बरको आफ्नो ट्र्याक्टरमा बुधबार बिहान साढे नौ बजे हेवा खोलाबाट बालुवा लिएर भारपातर्फ जाँदै गर्दा हेवा खोला र साम्वेवा क्षेत्रका १३ जना विद्यार्थीलाई ट्र्याक्टरमा चढाएका थिए ।

जय भवानी आवासीय विद्यालयका ती विद्यार्थीमध्ये १२ वर्षीया पुजना सुवेदी र ९ वर्षीया गंगा सुवेदी चालकसँगै बसेका थिए । छेउमा रहेकी गंगा सिटबाट लड्न लागेपछि पुजनाले तानेर जोगाउने प्रयास गर्दा दुबै जना सडकमा बजारिए । सँगै रहेकी रेश्मा बराइलीका अनुसार पछाडिको चक्काले किचेर उनीहरूको मृत्यु भएको थियो ।

पुजना र गंगालाई पछाडिको चक्काले किचेपछि ट्र्याक्टर स्लो गरेर 'ब्रेक फेल भयो, सबै जना उत्रनू' भन्दै चालकले ओर्लन लगाएर आफू पनि भागेको विद्यार्थीहरूले बताए । ट्र्याक्टरबाट ओर्लने क्रममा ११ वर्षीय रेश्मासँगै १० वर्षीया सोनिया अधिकारी घाइते भएका छन् ।

यात्रु ओरालेर चालक भागेपछि ट्र्याक्टर भने सडकदेखि तल भीरमा खसेको छ । उनीहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिए । उनका अनुसार छात्राहरुको मृत्यु भएपछि भागेका चालक प्रेम कामी नजिकैको होवा खोलामा पौडी खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

दुर्घटनामा परेर मृत्यु भएका बालिकाको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको छ । उक्त घटनाबारे छानबिन भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०८० २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?