२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कारागार सुधारको प्रयास

विप्लव भट्टराई

इलाम — कारागारभित्र तास खेल्ने, मदिरा सेवन गर्ने र कैदी फरार हुनेजस्ता घटना बढेपछि चर्चामा रहेको इलाम कारागारको सुधारको प्रयास थालिएको छ । कारागारमा हुने विकृति न्यूनीकरण गर्दै नमुना केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले ‘इलाम कारागार सुधार मार्गचित्र २०८०’ जारी गरेर कार्यान्वयन थालिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

कारागार सुधारको प्रयास

मार्गचित्रअनुसार सोमबारदेखि कारागारभित्र सहकारी मोडलमा सहकारी पसल सञ्चालन गरिएको छ । जसले गर्दा कुनै पनि कैदीबन्दीले महँगो मूल्यमा सामग्री खरिद गर्नु नपर्ने प्रजिअ पोख्रेलको भनाइ छ । ‘एउटै सुरक्षा घेराभित्र कसैले कमाउने, कसैले गुमाउने स्थिति नहोस् भनेर कैदिबन्दीका लागि एकै मूल्यमा सबै सामग्री उपलब्ध गराउने प्रयास गरिएको हो,’ उनले भने, ‘कैदीबन्दीले पाउने सेवासुविधामा पनि एकरुपता कायम गरिनेछ ।’

कारागारमा बिचौलियाका कारण कैदीबन्दीले महँगो मूल्यमा सामग्री खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो बढ्दै गएपछि प्रशासनको सक्रियतामा न्यूनीकरण प्रयास थालिएको हो ।

कैदीबन्दीहरूले उक्त सेवासुविधा प्राप्त गर्दै गरेको भिडियो फुटेज जिल्ला प्रशासनमा कारागार प्रशासनले पठाउनुपर्नेछ । बिचौलियारहित सेवा प्रवाहको बारेमा कारागार सुधार मार्गचित्रका लागि प्रजिअ पोख्रेलले पटक–पटक कारागारको अवस्थाबारे कैदीबन्दी र कारागार प्रशासनसँग बसेर छलफल गरेका थिए । त्यहाँबाट आएका गुनासो र सुझावलाई सम्बोधन गर्दै उनकै सक्रियतामा मार्गचित्र तयार पारिएको हो ।

‘पछिल्ला घटनाक्रमले पनि कारागारको सुधार आवश्यक रहेको अवस्थामा यस मार्गचित्रले ठूलो सहयोग पुग्ने ठानेका छौं,’ जेलर सुमित मगरले भने । कैदीबन्दीले कारागारमा खानेपानीको अभाव रहेको बताउँदै बिरामी पर्दा उपचारमा समेत समस्या भएको बताए । सुधारगृहको रुपमा रहेको कारागारमा २० महिलासहित २ सय ७६ जना कैदीबन्दी छन् । महिला कैदीबन्दीका लागि सोमबारै औषधि व्यवसायी संघको तर्फबाट सेनिटरी प्याड, मास्कलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

प्रकाशित : जेष्ठ १, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?