कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक अलपत्र पारेपछि ठेकेदारको तस्बिरसहित प्रदर्शन

कुम्भराज राई

ओखलढुंगा — ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र पारेको भन्दै स्थानीय आन्दोनलमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले ठेकेदारको गोबरसहितको तस्बिरको ब्यानर बोकेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।

सडक अलपत्र पारेपछि ठेकेदारको तस्बिरसहित प्रदर्शन

आन्दोलनकारीले सोलुखुम्बु–ओखलढुंगा–हर्कपुर सडक खण्डमा पर्ने गोरुमारे भन्ज्याङमा सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा सैयौं सवारी साधनका यात्रुहरु अलपत्र परेका छन् । कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित २०७६ पुस ९ गते ठेक्का लिएको थियो । पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको उनीहरुको गुनासो छ ।

१२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लागेको थियो । आन्दोलनमा उत्रिएका स्थानीयले कान्छाराम कन्सट्रक्सनका प्रमुख कान्छाराम भनेर चिनिने पूर्णबहादुर तामाङको विरोधमा नाराबाजी गरेका छन् ।

ठेकेदार कान्छाराम रामेछापका कांग्रेस जिल्ला सभापति तथा संघीय प्रतिनिधिसभाका सांसद हुन् । उनको फर्ममार्फत स्थानीय ठेकेदार जितबहादुर श्रेष्ठले काम गरेका थिए । काममा लगाइएका दर्जनौं कामदारले महिनौंदेखि मजदुरीको पैसा समेत नपाएको गुनासो छ । सडक निर्माण तत्काल सुरू गरी सम्पन्न नगरे आन्दोलन चर्काउने सडक संघर्ष समितिका अध्यक्ष सुवास गुरुङले बताए ।

प्रकाशित : वैशाख ३१, २०८० ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?