कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

सगरमाथा जोड्ने सडक कालोपत्रेको काम सल्लेरीबाटै थाल्ने सहमति

भानुभक्त निरौला

सोलुखुम्बु — खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेको काम सल्लेरी जिरो प्वइन्टबाटै गर्ने गरी २ स्थानीय सरकारले सहमति जुटाएका छन् । सोलु दूधकुण्ड नगरपालिका र माप्यदूधकोशी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिबीच सदरमुकाम सल्लेरीमा भएको द्विपक्षीय बैठकमा निर्वाचन क्षेत्र रणनीतिक सडकको कालोपत्रे गर्ने काम सल्लेरीबाटै सुरु गर्ने निर्णय भएको हो । 

सगरमाथा जोड्ने सडक कालोपत्रेको काम सल्लेरीबाटै थाल्ने सहमति

सडक डिभिजन कार्यालय हर्कपुरअन्तर्गत ठेक्का लागेको उक्त सडक निर्माणका लागि सल्लेरीबाट नभई माप्यदूधकोशीको सिमाना काँकुस्थित सेलगुडीडाँडाबाट गर्नेगरी कार्यालयले तयारी गरेको थियो । जिरो प्वइन्टबाट कालोपत्रे काम सुरु गर्दा ७ किलोमिटर सडक कच्ची नै हुनुका साथै व्यावहारिक नहुने भन्दै सल्लेरीबाटै कालोपत्रे गर्न नगरपालिकाले पहल गर्दै आएको थियो । आइतबार मेयर शेर्पासहित नगरपालिकाका वडाध्यक्षहरू र माप्यदूधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईसहित वडाध्यक्षहरूको संयुक्त उपस्थितिमा भएको बैठकले नगरपालिकाको वडा नम्बर ४ स्थित सेर्गाबाटै पिचको काम गर्न संयुक्त रुपमा अनुरोध गर्ने निर्णय गरिएको हो । ‘दुई पालिकाको सहमति सँगै अब सल्लेरीबाटै पिचको काम हुनेछ‚’ सोलुदुधकुण्ड नपाका मेयर नाम्गेलजाङ्बु शेर्पाले भने ।

सल्लेरी-माप्यदुधकोशी हुँदै खुम्बु पासाङह्लामु गाउँपालिका जोड्ने सडक कालोपत्रेका लागि ६० करोड रुपैयाँ बराबरको टेन्डर आह्वान गरिएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा छनोट भएको उक्त परियोजनाका लागि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय हर्कपुर ओखल्ढुंगाले काम थाल्नेछ । यसअघि सोलुदूधकुण्ड नगरपालिकाले सेलगुडी डाँडासम्म र त्यसपछि माप्यदूधकोशी गाउँपालिकाले कच्ची सडक निर्माण गरेका थिए ।

प्रकाशित : वैशाख २४, २०८० १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×