भारतीय राजदूतद्वारा सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास

महाकुलुङको गुम्बालाई ४ करोड सहयोग
'नेपालको हिमाली क्षेत्रमा सहयोग गर्न भारत सधैं तयार'
भानुभक्त निरौला

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गरेका छन् । शुक्रबार बुद्ध जयन्तीका अवसरमा राजदूत श्रीवास्तवले जिल्लाको महाकुलुङ गाउँपालिका–१ बुङस्थित खिरौलामा ध्यान केन्द्र (मेडिटेशन सेन्टर) र गुम्बाको शिलान्यास गरेका हुन् ।

भारतीय राजदूतद्वारा सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास

भारत सरकारले सगरमाथा क्षेत्रको खानेपानीदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै आगमी दिनमा पनि नागरिकको मागका आधारमा सहयोग गर्दै जाने उनले बताए ।शिलान्यास कार्यक्रममा राजदूत श्रीवास्तवले गौतम बुद्धका कारण पनि नेपाल–भारत सम्बन्ध विशष्टि रहेको बताए ।

‘गौतम बुद्ध नेपालमा जन्मिएर बुद्धत्व भारतमा प्राप्त गरेकोले दुई देशको सम्बन्ध विशिष्ट र ऐतिहासिक अनि पुरानो छ,’ राजदूत श्रीवास्तवले भने, ‘आगामी दिनमा सम्बन्ध थप मजबुद बनाउन हामी लागि पर्ने छौं ।’


हिमाली भेगका नागरिकको जीवनस्तर उकास्नका लागि शिक्षा, स्वास्थ्य र खानेपानीमा भारत सरकारले अरबौं लगानी गरेको भन्दै उनले शिलान्यन्स गरिएको ध्यान केन्द्र तथा गुम्बाको लागि ३ करोड ९५ लाख रकम सहयोगको घोषणा गरे ।


४ करोड ५० लाखको लागतमा बन्ने उक्त गुम्बाको कुल लागतको ८० प्रतिशित भारत सरकार र २० प्रतिशत गाउँपालिकाले बेहोर्ने छ । सो अवसरमा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङले भारतीय दूतावासले यसअघि पनि एम्बुलेन्स सहयोग गरेको भन्दै यस क्षेत्रको पर्यटन विकासमा पनि सहयोग गर्न आग्रह गरे । हलेसीबाट साल्पा क्षेत्रसम्म सडक विस्तार गर्ने महत्त्वपूर्ण आयोजनामा सहयोग माग गर्दै अध्यक्ष राईले पालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रका थप आयोजनामा साझेदारी गर्न माग पत्र पेश गरेका छन् । जवाफमा भारतीय राजदूत श्रीवास्तवले उक्त मागहरुमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।


गुम्बा शिलान्यासका क्रममा हेलिकोप्टरमार्फत महाकुलुङ आएका राजदूत श्रीवास्तवमा शुक्रबार साँझै हेलिकोप्टरमार्फत खुम्बु क्षेत्र प्रस्थान गरेका छन् । शनिबार खुम्बु क्षेत्रमा सञ्चालित परियोजनाहरुको अनुगमन गरेर काठमाडौं फर्किएको दूतावासले जनाएको छ ।

प्रकाशित : वैशाख २३, २०८० १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?