कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

निरन्तर हिमपातले आधार शिविरमै रोकिए सगरमाथा आरोही

भानुभक्त निरौला

सोलुखुम्बु — निरन्तर हिमपातका कारण बसन्तयामको हिमाल आरोहण प्रभावित भएको छ । हिमाल आरोहणको सिजन सुरु भए पनि बेमौसममा हिमपात हुँदा आरोहण हुन नसकेको हो । ७० वर्षको इतिहासमा सबैभन्दा बढी आरोहीले सगरमाथा आरोहणको अनुमति लिए पनि मौसम प्रतिकूल हुँदा आरोहीहरु आधार शिविरमै रोकिएका छन् ।

निरन्तर हिमपातले आधार शिविरमै रोकिए सगरमाथा आरोही

सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ४ सय ६६ जनाले अनुमति लिएका छन् । अहिले विभिन्न हिमाल आरोहरणका लागि गएका १३ सय स्वदेशी तथा विदेशी आधार शिविरमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।

आधार शिविरमा यतिका आरोहीको ओइरो लागेको यो पहिलो पटक हो । ‘आधार शिविरमा अहिले १३ सयभन्दा बढी पर्यटक छन्, हिमपात धेरै छ, आरोहीहरु हिमाल चढ्न सक्ने अवस्था छैन,’ एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले भने । विगत ५ दिनदेखि खुम्बु क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । ‘नाम्चेभन्दा माथि दिनैपिच्छे बाक्लो हिउँ परिरहेको छ, चिसो पनि त्यत्तिकै बढिरहेको छ,’ सगरमाथा राष्ट्रिय निकुन्जका वार्डेन भूमिराज उपाध्यायले कान्तिपुरसँग भने ।

अहिले आरोहीहरु पहिलो आधार शिविर र दोस्रो आधार शिविरबाट आधार शिविरमा ओहोरदोहोर गर्ने काम गरिरहेका छन् । ‘बाक्लो हिउँ लगातार परिरहेको छ, दोस्रो शिविरबाट माथि जान सक्ने कुनै सम्भावना छैन, त्यसैले अहिले आरोहीहरु अभ्यास गर्दै बसिरहेका छन्,’ आरोहणका लागि बाटो बनाउने र डोरी टाग्ने जिम्मा पाएको एसपीसीसीका अध्यक्ष शेर्पाले भने । शेर्पाहरुले आरोहणका लागि सामान ओसार्ने कामलाई भने निरन्तरता दिएका छन् । त्यस्तै केही आरोही भने अनुकूल मौसमको पर्खाइमा नाम्चे झर्न थालेका छन् । ‘बेस क्याम्पबाट हेलिकप्टर चढेर आज पनि दर्जनभन्दा बढी आरोही नाम्चे आएका छन्,’ पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले भने । अहिले दैनिक ३ सयको संख्यामा हवाईमार्गमार्फत विदेशीहरु खुम्बु क्षेत्र प्रवेश गर्ने गरेकाले पनि खुम्बुका होटलहरु भरिभराउ छन् ।

मौसममा सुधार आउन अझै समय लाग्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले अझै केही दिन हिमाली भेगमा हिमपात हुने बताइन् । ‘भोलिबाट हिमपात कम हुँदै जानेछ तर पुरै हिमाली भेगको मौसममा सुधार आउन केही दिन लाग्छ,’ मौसमविद शाक्यले कान्तिपुरसँग भनिन् ।

प्रकाशित : वैशाख २१, २०८० १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?