कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शिक्षा क्षेत्रमा सुधारको खाँचो छ : प्रधानमन्त्री दाहाल

अर्जुन सुवेदी

सुनसरी — प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा क्षेत्रको विकासका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको एघारौं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा गुणात्मक सुधारको खाँचो रहेको औँल्याए ।

शिक्षा क्षेत्रमा सुधारको खाँचो छ : प्रधानमन्त्री दाहाल

शिक्षा क्षेत्रमा सुधार गर्नका निम्ति वर्तमान सरकारले शिक्षामन्त्रीको नेतृत्वमा ठोस योजना बनाएर काम गर्ने उनले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनका लागि आफ्नो पालामा अनुमति दिएको बताउँदै दाहालले आगामी शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालन हुने विश्वास व्यक्त गरे । लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमति कुरेर बसेको विश्वविद्यालयलाई आफ्नै नेतृत्वको मन्त्रिपरिषद् बैठकले अनुमति प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै बाँकी कामका लागि पनि सरकार तयार रहेको बताए ।

एघारौँ दीक्षान्त समारोहमा ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित भएका छन् । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको प्रमुख अतिथ्यतामा भएको दीक्षान्त समारोहमा स्नातकोत्तरतर्फ १ हजार ४५ जना र स्नातकतर्फ ५ हजार ४ सय ६२ र एम फिलमा ६ जना गरी ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित भएका हुन् ।

विश्वविद्यालयको मुख्य कार्यलय मोरङको सुन्दरहरैचास्थित गोठगाउँमा आयोजित एघारौँ दीक्षान्त समारोहमा विभिन्न ६ वटा संकायबाट सो संख्यामा विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । जसअन्तर्गत कला संकायबाट स्नातकमा ९२ र स्नातकोत्तरमा ४३ जना दीक्षित भएका छन् ।

शिक्षा संकायबाट स्नातकमा ३ सय ५४ र स्नातकोत्तरमा १ सय ४८ जना दीक्षित भएका छन् । कानुन संकायबाट स्नातकमा १ सय ९९ जना र स्नातकोत्तरमा १ सय ७ जना दीक्षित भएका छन् । व्यवस्थापन संकायबाट स्नातकमा १ हजार २ सय ४२ जना र स्नातकोत्तरमा ६ सय १४ जना विद्यार्थी दीक्षित भएका छन् ।

चिकित्साशास्त्र संकायबाट स्नातकमा २ हजार १ सय १४ जना र स्नातकोत्तरमा १० जना विद्यार्थी दीक्षित भएका छन् । विज्ञान तथा प्रविधि संकायतर्फबाट स्नातकमा १ हजार २ सय ६१ जना र स्नातकोत्तरमा १ सय २३ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयमा ३५ हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् ।

प्रकाशित : चैत्र १९, २०७९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?