१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कारबाहीबाट जोगिन राजीनामा

विराटनगर — साझेदार संस्थासँग करिब ६ लाख रुपैयाँ घूस मागेको पुष्टि भएपछि विराटनगर महानगरपालिको सामुदायिक महाशाखा प्रमुख राजेन्द्र प्रधानले कारबाहीबाट जोगिन पदबाट राजीनामा दिएर हिँडेका छन् ।

कारबाहीबाट जोगिन राजीनामा

उनले साझेदार संस्थाले कार्यक्रम सञ्चालन गर्न राखेको धरौटी रकम फिर्ता माग्दा ६ लाख रुपैयाँ घुस मागेका थिए । यससम्बन्धी अडियो रेकर्डसहितको प्रमाण महानगर प्रमुख नागेश कोइरालासमक्ष पुगेपछि उनले कारबाहीबाट जोगिन हतारहतार राजीनामा दिएको महानगर स्रोतले बताएको छ ।

घूस काण्डको खुलासालगतै उनलाई महाशाखाको जिम्मेवारीबाट मुक्त गरेर प्रमुखको सचिवालयमा सरुवा गरिएको थियो । स्रोतका अनुसार त्यसपछि छानबिन र कारबाही हुने डरमा प्रधानले प्रशासन सेवातर्फको वित्त अधिकृतको आठौं तहको पदबाट जागिर छाडेका हुन् । उनी महानगरमा २५ वर्षदेखि कार्यरत थिए । प्रधानले पटकपटक फट्याइँ गरेको पाइएको स्रोतले जनाएको छ ।

घूस मागेको अडियो रेकर्ड फेला परेपछि प्रधानले स्वतः राजीनामा गरेको महानगर प्रमुख कोइरालाले कान्तिपुरलाई बताए । ‘राजीनामा नै दिएर गइसके,’ उनले भने,‘ अब उनका बारेमा के कुरा गर्नु ?’

वित्त अधिकृतसमेत रहेका प्रधान लामो समयदेखि महानगरको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी केही वर्षदेखि सामाजिक महाशाखाको जिम्मेवारीमा थिए । घूस प्रकरणबारे थप जानकारी लिन खोज्दा प्रधान सम्पर्कमा आएनन् ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?