कृत्रिम हातखुट्टा पाएपछि दंग

कान्तिपुर संवाददाता

झापा — पूर्वी मोरङको रतुवामाई नगरपालिका–९ का विपिन लिम्बूले २०७४ मा सवारी दुर्घटनामा दायाँ खुट्टा गुमाए । त्यसयता बैसाखीको सहारामा हिँडडुल गर्दै आएका उनी बुधबार कृत्रिम खुट्टा पाएपछि दंग परे ।

पाँच वर्षदेखि बैसाखीको भरमा रहेका उनी भारत राजस्थानको नारायण सेवा संस्थानको सहयोगमा कृत्रिम खुट्टा पाएका हुन् । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले विपिन जस्ता १ सय २० अपांगहरूलाई कृत्रिम हातखुट्टा वितरण गरिन् ।

युरोपेली मुलुक पोल्यान्ड जाने तयारीमा रहेका विपिनको भिसा आइसकेको थियो । मेनपावरबाट बोलावट भएपछि बाबुसहित उनी मोटरसाइकलमा काठमाडौंतिर लम्कँदै थिए । बिहान साढे ९ बजे सप्तरीमा खाजा खाएर अघि बढेका उनीहरू केही क्षणमा दुर्घटनामा परेका थिए ।

‘लामो बाटो भएकाले आलोपालो कुदाउँदै जाने निधो गरेका थियौं’, उनले भने, ‘अचानक दुर्घटना भयो ।’ बाइक ठोक्किएपछि पछाडि बसेका बाबु हुत्तिएर पर पुगे । दुवै खुट्टाको हड्डी सबै भाँचियो । विपिनको भने खुट्टा काट्नै पर्ने स्थिति भयो ।

‘दुर्घटनापछि सिलिगुडीको एक अस्पतालमा लगिएछ’, उनले थपे, ‘डाक्टरले खुट्टा काट्नै पर्छ नत्र मान्छे बचाउन गाह्रो हुन्छ भनेपछि मैले खुट्टा गुमाउनुपर्‍यो ।’ पाँचथर नगरपालिका–१३ फिदिमका लाखबहादुर सारु मगरको कथा पनि उस्तै छ । २०६५ सालताका उनी वैदेशिक रोजगारीमा साउदीमा थिए ।

त्यहीको एक कम्पनीमा काम गर्ने क्रममा उनले देब्रे खुट्टा गुमाउनुपर्‍यो । ‘कम्पनीमा काम गर्ने बेलामा क्रेनले खुट्टा छिनाल्यो’, उनले सुनाए । खुट्टासँगै रोजगारी समेत गुमाएका उनी हाल पाँचथरमै खेती किसानी गर्छन् । करुणा फाउन्डेसनमार्फत सूचना पाएर उनी झापाको बाहुनडाँगी आएर कृत्रिम खुट्टा लगाएर फर्किए । ‘सुरुमा अलि अप्ठेरो हुने गरेछ’, उनले थपे, ‘बानी पार्न केही समय लाग्छ रे ।’

विराटनगरकी १३ वर्षीया लक्ष्मी सहनी जन्मजात अपांग हुन् । कस्तो अचम्म, उनी दुवै हात र दुवै खुट्टा विहीन जन्मिएकी थिइन् । कक्षा ४ मा पढ्ने विपन्न समुदायकी लक्ष्मीलाई परिवारले बोकेर विद्यालय पुर्‍याउँथे । ‘अब भने छोरीलाई गाह्रो नहोला’, आमा सरिता सहनीले भनिन्, ‘हातखुट्टा पाएपछि छोरीको भुइँमा खुट्टै छैन ।’ बाहुनडाँगी–२ को ब्रह्माण्ड सहकारीको समन्वयनमा बुधबाअर पूर्वका विभिन्न जिल्लाका १ सय २० अपांग भएकाहरूलाई कृृत्रिम हातखुट्टा, ह्वीलचियर वितरण गरिएको छ ।

प्रकाशित : चैत्र १७, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

एक वर्ष नपुग्दै ट्राफिक लाइटमा समस्या

ट्राफिक लाइट कहिले बल्ने र कहिले बन्द हुँदा चालक तथा यात्रुहरू झुक्किँदा दुर्घटनाको जोखिम
कान्तिपुर संवाददाता

सुनसरी — इटहरीको मुख्य चोकमा सवारी व्यवस्थापन गर्न कोशी प्रदेशमै पहिलो पटक ८ महिनाअघि ट्राफिक लाइट जडान गरिएको थियो । यो उपायसँगै सवारी व्यवस्थापनमा सहज हुने अपेक्षा गरिए पनि बारम्बार बिग्रिरहँदा दुर्घटनाको जोखिम बढेको छ । 

कहिले बल्ने त कहिले बन्द हुने हुँदा यात्रुहरू झुक्किंदा दुर्घटनाको जोखिम बढेको हो । एक दुई दिन बल्ने, फेरि बन्द हुने समस्या बारम्बार आए पनि पूर्णरुपमा समाधान हुन नसकेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी श्याम कुमार महतोले बताए ।

ट्राफिक लाइटअनुसार बाटो काट्ने बानी परेका यात्रुहरू लाइट नबेको बेला पनि सोही अनुसार सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको महतोको भनाइ छ । लाइट नबलेको बेला चौक परिक्रमा वा घुमेर आफ्नो दिशा जानुपर्छ । तर यात्रु, सवारी चालकहरूले झुक्किएर छड्के बाटो क्रस गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

यसरी बाटो काट्दा फरक दिशाबाट आएका सवारी एक आपसमा ठोक्किने उच्च जोखिम रहेको ट्राफिक प्रहरीको भनाइ छ । अहिले इटहरीको मुख्य चोकमा यस्तो समस्या बारम्बार देखिन थालेको छ । मुख्य चोकमा ट्राफिक लाइटको अवस्था र संकेत अनुसार सवारी चलाउने र बाटो काट्नु पर्छ । रातो बत्ती बल्दा रोकिने, पहेलो बत्ती बल्दा दायाँबायाँ हेरेर विचार गर्ने र हरियो बत्ती बले पछि लाइट संकेत देखाएको दिशातर्फ सवारी गुडाउने यो ट्राफिक लाइटको सामान्य तथा सर्वमान्य नियम हो ।

ट्राफिक लाइटमा सवारीलाई छड्के रुटमा सञ्चालन गर्न लगाइन्छ । गोलो चोकलाई घुम्नु वा परिक्रमा गर्न लगाइँदैन । यो लाइट बलेको वा सञ्चालन भएको बेला मात्रै हो । यही नियम इटहरीबासी र इटहरीको मुख्य चोक हुँदै सवारी चलाउनेहरू अभ्यस्त हुँदैछन् । तर नबलेको बेला यो नियम लागू हुँदैन ।

आफू जाने दिशा गोलो चोक घुमेर वा परिक्रमा गरेर जानुपर्छ । अर्थात पुरानो शैली अपनाउनुपर्छ । तर ट्राफिक लाइट नबलेको बेला पनि छड्के रुटमा सवारी चलाउँदा दुर्घटना हुने उच्च संभावना हुन्छ । फरक दिशाबाट आएका सवारी क्रस गर्न खोज्दा दुर्घटनामा पर्न सक्छन् । हेर्दा सामान्य लागे पनि यो सुरक्षासँग जोडिएको संवेदनशील विषय हो । सानो त्रुटिले ठूलो दुर्घटना ल्याउन सक्ने यात्रुहरू बताउँछन् ।

लाइटमा समस्या आउन थालेको स्वीकार्दै एसपी महतोले भने,‘यो प्राविधिक विषय हो । समस्या आए पछि जानकारी गराउँछौं, प्राविधिक आएर बनाउँछन् । समस्या चाहिँ देखिन थालेको छ ।’ यो समस्याका कारणले ट्राफिक प्रहरीले गाली खानुपरिरहेको उनी बताउँछन् । उनी भन्छन्,‘जडान मन्त्रालयले गरेको हो, पालिकाले मेन्टेनेन्स गर्ने हो, हामीले मोनिटरिङ मात्रै गर्ने हो । तर समस्या आउँदा यात्रुले हामीलाई गाली गर्छन् ।’ ट्राफिक लाइटको तार जलेका कारण समस्या देखिएको तर प्राविधिक लगाएर मर्मत गरी सञ्चालनमा आएको इटहरी ६ का वडाअध्यक्ष दिवस पोख्रेलले जानकारी दिए ।

उनले एमसीबीमा समस्या आउँदा पनि प्राविधिक बोलाएर मर्मत गरिंदै आएको बताए । पोखरेलका अनुसार इलेक्टोनिक सामान भएकाले समयसमयमा समस्या आउनु स्वाभाविक हो तर सँगसँगै मर्मत पनि भइरहेकै छ । विधुत प्राधिकरणले पोल सार्ने, तार व्यवस्थापनका लागि लाइन काट्ने गरेका कारण पनि ट्राफिक लाइटमा समस्या आउने गरेको उनले सुनाए । प्रदेश सरकारको लगानीमा जडान भएको ट्राफिक लाइट मुख्यमन्त्री राजेन्द्र राईको पालामा इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो । अहिले जडान गर्ने कम्पनिकै प्राविधिकले मर्मतको काम गर्दैछ । प्रदेशले हस्तान्तरण गरे पछि यो उपमहानगरको दायित्वमा आएको छ । तर उपमहानगरले हालसम्म यसको मर्मत व्यवस्थापनका लागि छुट्टै बजेट विनियोजन नगरेको वडा अध्यक्ष पोख्रेलले बताए । सानोतिनो खर्च वडाबाटै गर्ने गरिए पनि असार पछिको मर्मत व्यवस्थापनका लागि उपमहानगरले छुट्टै बजेटको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

प्रकाशित : चैत्र १७, २०७९ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×