विद्यालयलाई ३६ लाखको जग्गा र भवन सहयोग

प्रदीप मेन्याङ्बो

सुनसरी — आफ्ना स्वर्गीय आमाबाबुले गाउँको शिक्षा क्षेत्रमा दिएको योगदानलाई थप सम्झनयोग्य बनाउन टंक वनेम र उनका दाजुभाइले एक दशकदेखि योजना बनाइरहेका थिए । यसपालि ६ दाजुभाइ, दुई बहिनी र उनीहरूको सबै सन्तान पुर्ख्यौली थलोमा भेला भए ।

स्वर्गीय बाबु सिंहराज वनेम र स्वर्गीय आमा मनरानी एभेङथोप्राको स्मृतिमा ताप्लेजुङको साविक ढुङ्गेसाँघु गाविस हाल मैवाखोला–२ स्थित ठोट्ने आधारभूत विद्यालयलाई ३६ लाख रुपैयाँ बराबरको जग्गा र भवन दान गर्न पाएकोमा उनीहरू खुसी भए ।

जग्गादानसँगै वैधानिक प्रक्रिया अपनाएर विद्यालयको नाम पनि परिवर्तन गरेर चैत ११ देखि ठोट्ने सिंहराज–मनरानी आधारभूत विद्यालय राखिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका उपाध्यक्षसमेत रहेका लेखक साहित्यकार टंक वनेमले बाबुआमाले आफ्नो समयमा समाजमा शिक्षा क्षेत्रमा दिएको योगदानलाई सम्झनयोग्य बनाउन आफूहरू जुट्न नसकेको सुनाए । ‘परिवारका अधिकांश सदस्यहरू विदेशमा बस्ने गरेकाले बल्ल यसपालि साइत जुराउन सकियो,’ उनले भने, ‘पुर्ख्यौली थलो साबिक ढुङ्गेसाँघु– ८ चुम्लोक गाउँमा जुटाउन एक दशक पर्खिनुपर्‍यो ।’

सिंहराज २०१७ देखि २०३१ सालसम्म साबिक ढुङ्गेसाँघु गाउँ पञ्चायत– ८ को वडा अध्यक्ष र २०३६ देखि २०३७ सालसम्म मैवाखोला माध्यमिक विद्यालय तेम्बेको सञ्चालक समितिको अध्यक्ष रहेर शैक्षिक क्षेत्रमा सक्रिय थिए । १९८३ असोज २२ मा जन्मेका उनको निधन २०४६ चैत ११ मा भएको थियो ।

१९८४ भदै ११ मा जन्मेकी मनरानीको २०६८ जेठ २८ मा निधन भएको थियो । उनीहरू दुवै समाज सेवामा सक्रिय रहेकाले छोराबुहारी र छोरीज्वाइँ, नातिनातिनाले ठोट्ने विद्यालयलाई आर्थिक र भौतिक दान गरेको प्रधानाध्यापक चित्रगुप्त वनेमले बताए । २०५७ सालमा सिंहराज वनेम परिवारको संयुक्त लगानीमा करिब १८ लाख रुपैयाँको लागतमा सिंहराज वनेम खेलमैदान निर्माण भएको थियो ।

उक्त खेलमैदान पनि वनेम परिवारले विद्यालयलाई हस्तान्तरण गरेका छन् । प्रअ वनेमका अनुसार सामाजिक रूपान्तरणका लागि शिक्षा नै प्रमुख आधार भएको हुनाले सिंहराजका जेठा छोरा मकर ध्वोज वनेमद्वारा प्रदान गरिएको १७ रोपनी १२ आना माङ्मालुङ प्याङ्सि (बलढेङ्गेढुङ्गा खेत) जग्गालाई खेल मैदान र विद्यालय परिसर बनाइएको थियो ।

उक्त जग्गामा निर्मित सिंहराज खेल मैदानसमेतको २७ लाख तथा नगद ९ लाख रुपैयाँ थप गरेर एकमुष्ट ३६ लाख रुपैयाँ बराबरको चलअचल सम्पत्ति विद्यालयलाई दान गरेपछि अब स्कुलको सम्पत्ति भएको छ । सिंहराजका परिवारले लालिमा क्लब र विद्यालयलाई ‘सिंहराज–मनरानी स्मृति कप महिला फुटबल सञ्चालनका लागि १५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको प्रअ वनेमले बताए ।

यो वर्ष ताप्लेजुङमा सञ्चालन भएको ‘सिंहराज–मनरानी स्मृति कप महिला फुटबल प्रतियोगिता’ का लागि पनि वनेम परिवारले उपाधि विजेतालाई २ लाख ९० हजार रुपैयाँ पुरस्कार प्रायोजन गरेको थियो । उनका अनुसार सिंहराजका छोराबुहारीदेखि पनातिपनातिनाले संयुक्त रूपमा नगद एवं जग्गा दान गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सहयोग गरेका छन् । उक्त विद्यालयमा करिब १ सय ५० विद्यार्थी छन् ।

प्रकाशित : चैत्र १७, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

दलहरूले निर्देशन कुर्दा वाग्मती सरकार विस्तारमा ढिलाइ

सुवास विडारी

मकवानपुर — केन्द्रीय निर्देशन कुर्दा वाग्मती प्रदेश सरकार विस्तार अलमलमा परेको छ । सत्ता साझेदार दलबीच संघीय सरकार विस्तारमा सहमति नहुँदा त्यसको असर प्रदेश तहमा परेको छ ।

मन्त्रिपरिषद् विस्तारको विषयमा प्रदेशमा प्रतिनिधित्व गर्ने सत्ता साझेदार दलबीच पटकपटक वार्ता भए पनि केन्द्रीय निर्देशनको अभावमा ठोस सहमति हुन सकेन । सरकारको नेतृत्वमा आलोपालो,

मन्त्रालय र संसदीय समितिको भागबन्डाको विषयमा दलबीच मतभेद कायमै रहँदा सरकार विस्तार गर्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सकस परेको हो ।

‘प्रदेश सरकारको विषयमा दलहरूलाई केन्द्रले आफ्नो खुसी निर्णय गर्ने अधिकार दिएको छैन,’ सत्तारूढ दलका एक सांसदले भने, ‘त्यसकारण हामी केन्द्रीय निर्देशन कुरिरहेका छौं । केन्द्रबाट ग्रिन सिग्नल प्राप्त हुनसाथ प्रदेशमा रहेका समस्या क्रमशः समाधान हुन्छ ।’

संख्याभन्दा बढी मन्त्रालयमा दाबी गरेपछि सत्तारूढ माओवदी केन्द्र र कांग्रेसले कार्यदल गठन गरेर सहमति प्रयास गरिरहेका छन् । माओवादी संसदीय दलका नेता मुख्यमन्त्री जम्कट्टेल र वाग्मती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले कार्यदल बनाएर मन्त्रालय भागबन्डाको टुंगो लगाउने बताए पनि नेकपा (एस) संसदीय दलको नेता चयन नहुँदा छलफल प्रक्रिया अगाडि बढाउन उल्झन भएको छ ।

सरकार विस्तारको सम्बन्धमा छलफल गर्न गठित सात सदस्यीय कार्यदलमा कांग्रेसले संयोजकसहित ३ सदस्य, माओवादी केन्द्रबाट २ जना, एस र हाम्रो नेपाली पार्टीबाट १/१ जना सदस्य छन् । कार्यदल संयोजकमा कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार रहेका छन् । सदस्यमा कांग्रेसबाट कुन्दनराज काफ्ले, तीर्थ लामा, माओवादीबाट सरल सहयात्री, रत्न ढकाल, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान वज्राचार्य र नेकपा (एस) बाट एक प्रतिनिधि रहेका छन् । एसको संसदीय दलको नेता टुंगो नलाग्दा प्रतिनिधिको नाम समावेश गरिएको छैन ।

प्रदेशमा ११ वटा मन्त्रालय रहेकामा कांग्रेसले ६, नेकपा (एस) ले ३ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेका छन् । २५ पुसमा नेकपा एमाले र राप्रपासहितको गठबन्धनबाट सरकार गठन हुँदा माओवादीले लिएको ४ वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । माओवादीले लिएको ४ वटासहित सरकार बाहिर रहेका ३ दलले ९ वटा मन्त्रालयमा दाबी गरेपछि सत्तारूढ दलबीच मन्त्रालय भागबन्डामा समस्या भएको हो ।

संयोजक चित्रकारका अनुसार कार्यदलले दलबीच छलफल गरी मन्त्रिमण्डल भागबन्डाको विषय टुंगाउने बताइएको छ । उनले यसै साता मन्त्रालय भागबन्डा भइसक्ने बताए । कार्यदलमा मन्त्रालय संख्या वृद्धि नगर्नेमा सबै दल एकमत रहेका छन् । सत्तारूढ दलबीच भएको छलफलअनुसार कांग्रेसले ५ वटा मन्त्रालय, माओवादीले मुख्यमन्त्रीसहित चार र नेकपा (एस) ले दुईवटा मन्त्रालय लिँदा सहमति हुने सम्भावना देखिएको कार्यदलका एक सदस्यले बताए ।

प्रकाशित : चैत्र १७, २०७९ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×