१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

स्वास्थ्यचौकी भवन ८ वर्षदेखि अलपत्र

भवन अभावमा बिरामीलाई बाहिरै राखेर जाँच
उपकरण ठाउँ अभावमा अन्यत्रै राख्दा बिग्रिएर काम नलाग्ने अवस्थामा
चन्द्र कार्की

तेह्रथुम — फेदाप गाउँपालिका–५ इसिबुमा निर्माणाधीन स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र अवस्थामा छ । पाँचौं पटक म्याद थप्दासमेत काम अगाडि बढेको छैन ।

स्वास्थ्यचौकी भवन ८ वर्षदेखि अलपत्र

२०७१ जेठ २६ मा नीलगिरि निर्माण सेवाले ठेक्का सम्झौता गरी निर्माण थालेको यो भवन नबन्दा वडावासीको स्वास्थ्य सेवा प्रभावित भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रप्रसाद देवले बताए । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको १ करोड ५० लाख ९० हजार रुपैयाँ लागतमा निर्माण सुरु भएको थियो ।

निर्धारित समयमा सम्पन्न गराउन पटक–पटक ताकेता गर्दा पनि उक्त कम्पनीका ठेकेदार युवराज डाँगीले अटेर गरेको उक्त आयोजनाका धनकुटाका प्रमुख रञ्जनकुमार दासले बताए । पछिल्लो पटक गत वर्षको असारमै सम्पन्न गरिसक्नुपर्ने समयसीमा रहे पनि उनले पुनः आगामी असारसम्मका लागि म्याद थपाएका छन् । म्याद थपिएको अवधिमा कुनै पनि काम नभएको वडाध्यक्ष पुरुषोत्तम तिम्सिनाले बताए । भवन वडा कार्यालयकै छेउमा बन्दै छ । काम सम्पन्न नगरे पनि डाँगीले काम गरेबापतको ७७ लाख ५५ हजार ८ सय ५४ रुपैयाँ भुक्तानी लिइसकेका छन् ।

भवन संरचनाको काम सकेर जस्तापाताको छानो लगाइए पनि निर्माण स्थलमा लागत इस्टिमेट बोर्डसमेत राखिएको छैन । भवनमा झ्यालढोका लगाइएका छैनन् । शौचालय फिनिसिङ र वायरिङको काम भएकै छैन । झ्यालढोकाको चौकोससमेत झारा टार्ने किसिमले लगाइएको छ । काम नगरेपछि उसले पाउनुपर्ने रकमसमेत रोकेर राखेको आयोजना प्रमुख दासले बताए । भवन अभावमा पुरानै साँघुरो भवनबाट जेनतेन स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्यचौकी प्रमुख रमेश रिजालले बताए । हाल सञ्चालनमा रहेको चौकीको सानो घरको कोठामा स्टोर गरेर राखेको औषधिसमेत पानी चुहिएर र मुसाले खाएर नोक्सान पुर्‍याएको स्वास्थ्यकर्मीको भनाइ छ ।

गाउँपालिकाले उपलब्ध गराएको उपकरण ठाउँ अभावमा अन्यत्रै राख्दा बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन् । बिरामीलाई बाहिरै राखेर चेकजाँच गरिरहेको रिजालले बताए । प्रसूति सेवाका लागि वडा कार्यालयले बर्सेनि बजेट छुट्याउँदै आएको छ । तर भवन अभावमा उक्त सेवा प्रदान गर्न सकिएको छैन । छुट्याउँदै आएको बजेट बर्सेनि फ्रिज हुँदै आएको वडाध्यक्ष तिम्सिनाले बताए । डाँगीले आफूले भवन बनाउने जिम्मा दिएको स्थानीय ठेकेदारले समयमा काम नगरिदिँदा समस्या भएको बताए । उनले भने, ‘थपिएको समयमा जसरी पनि सम्पन्न गरेर भवन हस्तान्तरण गर्छु ।’

प्रकाशित : चैत्र १४, २०७९ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?