१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

डढेलो बस्तीमा सल्किँदा धनकुटाका ४ घरमा क्षति

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–२ सान्नेटारस्थित धर्मदेवी सालबोट सामुदायिक वनबाट सल्किएको डढेलो बस्तीमा सल्किँदा चार घरमा आगलागी भएको छ ।

मंगलबार साँझ घटना भएको प्रहरीले जनाएको छ । घटनामा स्थानीय राजकुमार कट्टेलको ढुंगा माटोले बनेको तीन तले घर पूर्णरुपमा नष्ट भएको छ । यस्तै, चेतबहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको दुई तले घर पूर्णरुपमा क्षति पुगेको छ । कमलको गोठ समेत जलेको छ ।

ती घरमा लागेको आगो राति करिब ११ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत इन्सपेक्टर मानबहादुर श्रेष्ठले जानकारी दिए । राजकुमार र चेतबहादुरको घरमा मात्र मानिस बसोबास गर्दै आएका थिए । दुई घरमा गरी २४ लाख बढिको क्षति पुगेको प्रहरीको अनुमान छ । कमल र सुमनको घरमा मानिस बसोबास नगर्ने र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ । घटनामा मानवीय क्षति भए नभएको प्रहरीको भनाइ छ ।

छापाखानामा आगलागी


धनकुटा नगरपालिका–७ हुलाकटोलमा रहेको जनविश्वास अपसेट प्रेसमा मंगलबार बिहान आगलागी भएको छ । बिहान करिब ६ः ४५ बजे सुरु भएको आगलागीबाट छापाखानाको मेसिन लगायतका सामग्री क्षति पुगेको प्रहरीले जनाएको छ ।

धनकुटा ७ हुलाकटोलमा रहेको जनविश्वास अपसेट प्रेसमा भएको आगलागी क्षेत्र ।

धनकुटा नगरपालिकाको दमकल, प्रहरी, स्थानीयबासीको पहलमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । स्थानीय राधा लिम्बूको घरमा सञ्चालित उक्त छापाखानामा विद्युत सट भएर आगलागी भएको जनाइएको छ । आगलागीबाट करिब ५५ लाख बराबरको क्षति पुगेका प्रहरीको अनुमान छ ।

छापाखानाबाट जनविश्वास साप्ताहिक लगायत अन्य प्रकासनका काम हुने गरेको सञ्चालक सञ्जयसन्तोषी राईले बताए । आगोले छापाखानाको सम्पूर्ण मेसिन र कम्प्युटर लगायतका सामाग्री जलेर क्षति पुगेको छ ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?