विद्यालय उकास्न एक रुपैयाँ अभियान

कान्तिपुर संवाददाता

संखुवासभा — चैनपुरस्थित सरस्वती माविले विद्यालयको भौतिक एवं शैक्षिक प्रगतिका लागि एक रुपैयाँ सहयोग अभियान सञ्चालन गरेको छ । माविका प्रधानाध्यापक उज्ज्वल कर्माचार्यले अभिभावकबाट संकलित यो रकम बैंकमा खाता खोलेर जम्मा गरिएको बताए ।

विद्यालयमा ३ सय ७० विद्यार्थी अध्ययनरत छन् । फरक क्षमता र बौद्धिक अपांगता भएकाहरूसमेत पढ्दै छन् । अहिले १ सय बढी अभिभावकबाट दैनिक १ रुपैयाँका दरले रकम जम्मा गरिंदै आएको विद्यालयले जनाएको छ । हालसम्म करिब १ लाख ३६ हजार संकलन भइसकेको छ । ‘रकम संकलन भएपछि सुविधायुक्त भवन निर्माण गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘त्यसमा पनि आजीवन सदस्य बनाएर रकम संकलन गर्न खोजिरहेका छौं ।’

विद्यार्थीको पढाइको स्तर राम्रो भएको प्रधानाध्यापक कर्माचार्यले दाबी गरे । जिल्ला भरका ६२ माविमध्ये यो विद्यालय २६ औं स्थानमा आएको पनि उनले बताए । २०१५ सालमा स्थापित यो विद्यालयले विभिन्न आरोहअवरोहबीच आधारभूत तह सञ्चालन गर्दै आए पनि माध्यमिक तह भने निजी स्रोतबाट सञ्चालन गरिरहेको छ । कक्षा ६ देखि ८ सम्म राहत शिक्षकबाट सञ्चालन गरिएको छ । कक्षा ९ र १० भने सरकारले व्यवस्था गरेको शिक्षण सिकाइ अनुदानबाट सञ्चालन छ । त्यहाँबाट प्राप्त सहयोगबाट गणित, विज्ञान र अंग्रेजीका शिक्षक राखिएको छ । कक्षा ६ देखि १० सम्म प्रस्तावित माविको रूपमा सञ्चालनमा छ ।

अहिलेसम्म विद्यालयले ११ औं पटक एसईई परीक्षामा विद्यार्थी सामेल गराइसकेको छ । ‘माध्यमिक तह निजी स्तरबाट सञ्चालन भइरहँदा विद्यालयलाई आर्थिक भार थपिरहेको छ,’ उनले भने, ‘भौतिक विकासका कामसमेत हुन सकेको छैन, सबैको सहयोग चाहिएको छ ।’ विद्यालयको वार्षिक आम्दानी र खर्च १ करोड ३७ लाख ५५ हजार हुने गरेको कर्माचार्यले बताए । विद्यालयमा स्वास्थ्य इकाइअन्तर्गत १ दरबन्दीको व्यवस्था छ । शिक्षक एवं विद्यार्थीलाई स्वस्थ रहन आवश्यक सल्लाह सुझाब र औषधोपचारको समेत व्यवस्था गरिएको छ । विद्यालयमा विभिन्न दाता, शिक्षासेवी र अभिभावकहरूबाट १३ वटा छात्रवृत्ति अक्षयकोष र एउटा विकास कोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

‘विद्यालयको समग्र विकासका लागि अभिभावक, विद्यार्थी, विद्यालय एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘बालबालिकाको बौद्धिक विकासका साथै सामाजिकीकरण तथा सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापसमेत विद्यालयले सञ्चालन गरिरहेको छ ।’ वार्षिक रूपमा छात्रछात्रालाई हौसला दिन छात्रवृत्ति वितरण र विभिन्न समयमा गरिएको खेलकुद प्रतियोगिताका सफल विद्यार्थीलाई दाताबाट संकलित रकमबाट पुरस्कार प्रदान गर्ने गरिएको उनले बताए ।

प्रकाशित : चैत्र १२, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

जैविक मार्ग आसपास बाघको त्रास

भारतको दुधवा नेसनल पार्कलाई जोड्ने जैविक मार्गमा वन्यजन्तु आवागमन बढेसँगै बाघ पनि आउन थालेका छन्
मोहन बुडाऐर

धनगढी — मोहना–लालझाडी जैविक मार्गको बस्ती छेउको जंगलमा मेलापात गर्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भयो । कञ्चनपुरको पुनर्वास पचगडिया सबडिभिजन कार्यालयका सहायक वन अधिकृत दिनेशकुमार यादवका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मदन टोल बस्ने ३२ वर्षीया कलशा सार्कीको शुक्रबार बिहान बाघको आक्रमणमा मृत्यु भएको हो ।

सार्कीर् स्थानीयसँग बिहान भारतको दुधुवा नेसनल पार्क र नेपालको मोहना लालझाडी जैविक मार्गलाई जोड्ने जंगलमा मेलापात गर्न गएकी थिइन् । अहिले भारतीय सुरक्षाकर्मीसँगै नेपाल प्रहरी, सबडिभिजन वन कार्यालय पचगडियाका सहायक वन अधिकृत यादव र वडा प्रतिनिधि घटनास्थल पुगेर शव आफन्तलाई बुझाएका छन् ।

यसअघि मोहना–लालझाडीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३ मा पर्ने सामुदायिक वनमा पनि दुई डमरुसहित बाघलाई स्थानीयले देखेको वडा ३ का अध्यक्ष राजबहादुर ऐरले बताए । ‘शुक्रबार बेलुका भन्सार मसान टोलमा बाघ कराउँदै गरेको सुनियो,’ ऐरले भने, ‘बाघ कराएको सुनेपछि राति स्थानीय त्रसित भई आगो बालेर जागासमेत बसे ।’ उनले मोहना लालाझाडी जैविक मार्गमा बाघ देखिन थालेपछि जंगलछेउका बाटोमा स्थानीय ओहोरदोहोर गर्नसमेत डराइरहेको बताए ।

पछिल्लो समयमा भारतको दुधवा नेसनल पार्कलाई जोड्ने जैविक मार्गमा वन्यजन्तु आवागमन बढेसँगै बाघ पनि आउन थालेका छन् । कैलालीको मोहना–लालझाडी जैविक मार्गमा एक सातादेखि दुई डमरुका साथमा पाटे बाघ बस्दै आएको छ । अँध्यारो भएपछि बस्तीछेउ नजिकै आएर कराएर त्रसित पारेको स्थानीय राजमती चौधरीले बताइन् । ‘घाँस दाउराका लागि वनभित्र पस्नसमेत स्थानीय डराइरहेका छन्,’ चौधरीले भनिन्, ‘यसअघि राति खोर र गोठभित्रका बाख्रा, बंगुर र गाईगोरु खाइदिएको पनि छ ।’

पुनर्वासमा महिलामाथि शुक्रबार आक्रमण गर्ने बाघ भएमा झन् खतरा भएको सबडिभिजनका सहायक वन अधिकृत यादवले बताए । ‘मान्छेको रगत खान लागेको बाघ बढी आक्रामक हुन्छ,’ उनले भने, त्यसमाथि त्यो बच्चासहितको बाघ हो । यो बढी उग्र हुन सक्छ ।’ बाघबाट बच्न एक्लै जंगलभित्र नजानु नै सुरक्षित हुने प्रमुख उपाय भएको उनले बताए ।

यादवका अनुसार भारतको दुधवा नेसनल पार्क र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरका बाघ पछिल्लो समयमा डमरु हुर्काउन आउने गरेको छ । ‘यो साता मोहना जैविक मार्गमा देखिएको बाघसँग पनि दुई वटा बच्चा छन् भन्ने सुनियो,’ उनले भने, ‘यसअघि पनि मोहना लालझाडी र वसन्ता जैविक मार्गभित्र डमरुसहितको बाघ देखिएको सुनिँदै आएको छ ।’

पछिल्लो समयमा बाघका लागि आहारा हुने वन्यजन्तुसमेत बढेका छन् । ठाउँठाउँमा पानीको सुविधासहित झाडी र जंगलको विकासले बाघ डमरु हुर्काउन आउने गरेको उनको भनाइ छ । दुधवा र शुक्लाफाँटामा बाघको संख्या बढेको छ । अर्को बाघको आक्रमणबाट बच्नसमेत पछिल्लो समयमा नयाँ बासस्थानको खोजीमा मोहना लालझाडी र वसन्ता जैविक मार्गमा बाघ आउने गरेको यादवले बताए । वसन्ता र लालझाडी मोहना जैविक मार्गले दक्षिणमा दुधुवा र उत्तरमा चुरेसम्म जोडेको छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×