१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इटहरीको नगरसभा बैठक बोलाउन माग

अर्जुन सुवेदी

सुनसरी — एमालेबाट निर्वाचित इटहरी उपमहानगरका जनप्रतिनिधिहरुले तत्काल नगरसभा बोलाउन माग गरेका छन् । चैत ३ गते बस्ने भनिएको नगरसभा अनिश्चितकालका लागि स्थगित भएपछि उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरसभा बैठक अबिलम्ब बोलाउन माग गरेका हुन् ।

इटहरीको नगरसभा बैठक बोलाउन माग

उपस्थिति पुस्तिकामा हाजिर गरिसकेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको हृवीप आएको भन्दै आकस्मिकरुपमा बहिस्कार गर्ने तयारी गरेपछि सभाध्यक्ष एवं नगरप्रमुख हेमकर्ण पौडेलले नगरसभा अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । तर उनीहरुले पार्टीबाट कुनै दबाब नआएको दाबी गर्दै आएका छन् ।

नगरसभामा विभिन्न ५ वटा विधेयक पारित गर्ने कार्यसूची थियो । सोही विधेयकहरुको विषयलाई लिएर विवाद बढेपछि नगरसभा अनिश्चित बनेको छ । नगरसभामा आफूहरुले औपचारिक-अनौपचारिक रुपमा कुनै पनि हिसाबले बहिस्कार नगरेको तर एमालेका जनप्रतिनिधिले बहिस्कार गरेको भन्दै नगरप्रमुखले सभा स्थगित गरेको उनीहरुले आरोप लगाए । दिउँसो १ बजे बोलाइएको नगरसभा बैठक बेलुकी साढे ६ बजे प्रारम्भ नै नगरी आफूहरुलाई दोष देखाउँदै स्थगित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको एमाले इटहरी उपमहानगरका स्थानीय तह दलले बताएको छ ।

नगरसभामा केही पालिका ऐन र नयाँ विधयक प्रस्तुत हुने कार्यतालिका भएकोमा विधेयकहरु प्रक्रिया नै पूरा नगरी आएकोमा आफूहरु छलफलको क्रममै रहेको बेला सभाध्यक्षबाट सभा समापन गरिएको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रस्तावित विधेयकहरु कार्यपालिका बैठकमा छलफल नभएका कारण कार्यपालिकाका सदस्यहरुले संशोधन प्रस्तावसमेत दर्ता गरेकोले सहमति जुटाई सहमतिका साथ सभा गर्ने मेयरको सल्लाहबमोजिम सहमतिका निम्ति छलफल भइरहेको समयमा एकाएक नगरसभा विसर्जन गरेको उनीहरुको आरोप छ ।

नगरप्रमुखको यस्तो कदमले नगरवासीको हित र विकासमा ठूलो कुठराघात भएको उनीहरुले जनाएका छन् । आफूहरुले औपचारिक-अनौपचारिक तवरले सभा बैठक बहिस्कार गर्ने कुरा नगरेको बताउँदै उनीहरुले एमालेको आदेशमा सभा बहिस्कार गरेको जस्ता आधारहीन र भ्रमपूर्ण भनाइहरु सामाजिक सन्जालमार्फत सार्वजनिक गरेको भन्दै निन्दा व्यक्त गरेका छन् ।

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुखसहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुखसहित ६ जना कांग्रेसबाट निर्वाचित सदस्य छन् ।

प्रकाशित : चैत्र १०, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?