तस्बिरहरू

ज्येष्ठ नागरिकको घरदैलोमै उपचार

चन्द्र कार्की

तेह्रथुम — छथर गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरैमा पुगेर स्वास्थ्य परीक्षणसहित औषधि वितरण गरिरहेको छ । स्वास्थ्यकर्मीले घरघरमै पुगेर उपचार र औषधि दिन थालेपछि दीर्घरोगी र अशक्त १ हजार ९५ ज्येष्ठ नागरिकले सुविधा पाएका छन् ।

ज्येष्ठ नागरिकको घरदैलोमै उपचार

बुढ्यौली उमेरमा पहिचान नभएका रोगले घरमै थदिएका छथर गाउँपालिका–५ का ७३ वर्षीया सेतिमाया तामाङ ग्यास्ट्रीक र उच्च रक्तचापकी बिरामी हुन् । आर्थिक अभावमा स्वास्थ्य संस्थासम्म पुगेर स्वास्थ्य उपचार गराउन नसकेका तामाङले घरमै स्वास्थ्य उपचारसहित निःशुल्क औषधि पाएकी छन् । उनले गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूको हातबाट उपचार र औषधिको साथमा लौरो र कोसेली पोको समेत पाइन् । स्वास्थ्य परीक्षणको क्रममा उनमा मधुमेह रोगको समेत पत्ता लाग्यो ।

गाउँपालिकाले ‘ज्येष्ठ नागरिक घरदैलो उपचार अभियान’ सञ्चालन गरेपछिको स्वास्थ्य परीक्षणका क्रममा तामाङको शरीरमा नयाँ रोग समेत पत्ता लाग्यो । तामाङलाई थप जाँचका लागि स्वास्थ्यकर्मीले एक सातापछि छथर अस्पतालमा बोलाएका छन् । यो अभियानमा ज्येष्ठ नागरिकका लागि ‘लौरो उपहार’ र ‘कोसेली प्याकेज’ कार्यक्रम पनि सँगै लगिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । आफैं स्वास्थ्य केन्द्रसम्म जान आउन नसक्ने तामाङ जस्ता पाको उमेरका बिरामीलाई सेवा दिन गाउँपालिकाले औषधिसहितका स्वास्थ्यकर्मी घरघरै पठाएको छ ।

पेट, उच्च रक्तचाप, श्वासप्रश्वास, कान, आँखा लगायतका समस्या रहेका छथर गाउँपालिका १ आङदीमका ७० वर्षीय चित्रबहादुर कार्कीले पनि घरमै आएका स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण पछि निःशुल्क औषधि पाए । तामाङ र कार्की जस्ता गाउँपालिकामा कुनै न कुनै रोगविरुद्ध औषधि खाइरहेका र औषधि उपचार नै नपाएका ८ सय २६ जना दीर्घरोगी जेष्ठ नागरिकले एक साताको अवधिमा स्वास्थ्य उपचार सेवा पाएको स्वास्थ्य शाखा संयोजक गिरिराज खड्काले बताए । अभियानको क्रममा धेरैजसोमा मधुमेह, रक्तचाप, मुटु, फोक्सो, हड्डी, दम, आँखा, कान, मुख, नसा लगायतका समस्या देखिएको उनले वताए । स्वास्थ्यकर्मीले घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि दिने, खाने तरिका सिकाउने र थप समस्या देखिए फलोअपका लागि अस्पताल जान सुझाव दिने गरेका छन् । स्वास्थ्यकर्मी हरेक दुईदेखि तीन महिनामा बिरामीका घरमा पुग्नैपर्ने नियम गाउँपालिकाले लगाएको छ ।

गाउँपालिकाले दिएको स्वास्थ्य सेवाले दुरदराजका ग्रामिण क्षेत्रका जेष्ठ नागरिकलाई धेरै लाभ पुगेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । स्वास्थ्य जाँचको दुई महिने अवधि गाउँपालिकाले छोट्याइदिए थप सजिलो हुने ज्येष्ठ नागरिकले अपेक्षा गरेका छन् । उमेर ढल्कदै जाँदा शरीरमा देखा पर्ने विभिन्न स्वास्थ्य समस्याले धेरै जेष्ठ नागरिक घरमै थलिएका छन् । यस्तो अवस्थामा उनीहरु सुतेको ओछ्यानमै पुगेर स्वास्थ्य उपचार गराउन पाउँदा स्थानीय सरकारको काम पनि प्रभावकारी भएको दाबी गाउँपालिका अध्यक्ष लिम्बूको छ ।

बिरामी ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर्मी घरमै पुगेर प्रेसर र सुगर जाँचको तालिकालाई नियमित गराउने तयारीमा गाउँपालिका लागेको छ । त्यसका लागि जनशक्ति भने अभाव छ । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन केही स्वास्थ्यकर्मी गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतमा करारमा नियुक्ती गरेको छ । ‘स्वास्थ्यकर्मी अभावबारे प्रदेश र केन्द्र सरकारलाई पनि जानकारी गराएका छौं,’ अध्यक्ष लिम्बूले भने, ‘अभावकाबीच पनि नागरिकलाई स्वास्थ्य सेवा दिने हाम्रो उद्देश्य हो ।’

यो कार्यक्रमले ज्येष्ठ नागरिकप्रति परिवार र समाज सबैको सम्मान बढेको गाउँपालिकाले जनाएको छ । यो सेवाबाट ज्येष्ठ नागरिकले पनि घर आँगनमै स्थानीय सरकार आएको अनुभूति गर्न पाएका छन् । दुरदराजका अधिकांश ज्येष्ठ नागरिकले स्वास्थ्य संस्थामा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको स्वास्थ्य शाखा प्रमुख खड्काको भनाइ छ ।

अभियानमा ज्येष्ठ नागरिक भनिए पनि सबै वर्गका नागरिकले स्वास्थ्य सेवा पाएका छन् । फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पनि घरदैलो कार्यक्रममा समेटिएको छ ।

प्रकाशित : चैत्र ९, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?