खुम्बुमा लेक लागेर विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु — सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक विदेशी पर्यटकको लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा सोमबार राति स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको मृत्यु भएको हो ।
अक्सिजन अभावका कारण जान्कोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए ।
खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको बताइएको छ ।
जान्को ट्रेडिसनल एड्भेन्चर मार्फत हिमाल आरोहणका लागि यहाँ आएका थिए । खुम्बु पासाङल्हामु गाउँपालिका ४ गोरक्सेपको हिमालयन होटलमा सुतेकै अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
१३ जनाको समूहमा आएका उनी चैत्र १ गते नाम्चे प्रवेश गरेका थिए । मौसम प्रतिकुलताका कारण शव उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । खुम्बु क्षेत्रमा हिमपात हुँदा बुधबार मात्रै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए ।
प्रकाशित : चैत्र ७, २०७९ २०:०१