धनकुटामा तीन घरमा आगलागी, एकको मृत्यु

धनकुटा — धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिका गरी तीन घरमा आगलागी भएको छ । घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगढी-१० आहालेस्थित चोकचिरानकी ६९ वर्षीया वृद्धा जीवन सार्की रहेको प्रहरीले जनाएको छ । 

सोमबार बिहान करिब ४ बजे उक्त घटना भएको जनाइएको छ । छोराबुहारी धरानमा बस्दै आएका र घरमा एकलरुपमा बस्दै आएकी वृद्धा सार्कीलाई मृत अवस्थामा छिमेकीले फेला पारेका थिए । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । टिन र बाँसको टाटीले बारेको घर समेत जलेर क्षति पुगेको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।

यसैगरी, धनकुटा नगरपालिका-१ घिमिरे गाउँका भीमबहादुर बस्नेतको घर पनि आगलागीबाट क्षति भएको छ । एकतले पक्की घरमा विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । घटनामा १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

उता, धनकुटा नगरपालिका-३ लाकुरेका शशीकुमार राईको घरमा पनि आगलागी भएको छ । ढुंगा माटोले बनेको दुईतले घर र सोही घरमा रहेको किराना पसलका सम्पूर्ण सामग्री जलेको प्रहरीले जनायो । घटनामा १० लाखभन्दा बढीको क्षति भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित : चैत्र ७, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?