हिमालमुनिको उत्कृष्ट विद्यालय

भानुभक्त निरौला

सोलुखुम्बु — विकट खुम्बु क्षेत्रमा अवस्थित खुम्जुङ सामुदायिक मावि जिल्लाकै नमूना विद्यालय मानिन्छ । समुद्री सतहबाट ३ हजार ७ सय ५० मिटर उचाइमा रहेको यस विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । सगरमाथा आरोही सर एडमन्ड हिलारीले सन् १९६१ मा हिलारी स्कुलका नाममा स्थापना गरेको उक्त विद्यालयलाई खुम्जुङ माविको नामले चिनिन्छ ।

विद्यालयमा सुविधासम्पन्न छात्रावास, फराकिलो खेल मैदान, पुस्तकालय, कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला छन् । हिमालयन ट्रस्ट नेपाललगायत दातृ निकायले उक्त विद्यालयको गुणस्तरमा सहयोग गरेका छन् । ‘यहाँ तल्लो सबै कक्षामा सबै विषय अंग्रेजी माध्यमबाट पढाइरहेका छौं,’ विद्यालयका प्रधानाध्यापक ङवाङ दोर्जी राईले भने । २०७० देखि यहाँ पूर्ण रूपमा अंग्रेजी भाषामा पढाउन थालिएको हो । ‘अंग्रेजी माध्यम भन्नेबित्तिकै बोर्डिङले मात्रै पढाउन सक्छ भन्ने भ्रम यो सामुदायिक स्कुलले ताडेको छ,’ प्रअले भने, ‘शिक्षकको कडा मिहिनेतले स्तरीय पढाइ गराउन सकेका छौं ।’ उक्त विद्यालय तत्कालीन एसएलसीदेखि हालको एसईईमा समेत जिल्ला प्रथम हुँदै आइरहेको छ । दुर्गम क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा सन् २०१६ मा शिक्षा मन्त्रालयलये नगद १ लाखसहित उक्त विद्यालयलाई पुरस्कृतसमेत गरेको छ ।

विकट क्षेत्रको यो विद्यालयमा २ सय ९३ जना विद्यार्थी नियमित विद्यालय जान्छन् । ‘विद्यार्थीको प्रमुख आकर्षण अंग्रेजी माध्यमको पढाइ, कम्प्युटर शिक्षा र प्रयोगशाला हुन्,’ सामाजिक विषयकी शिक्षिका लीलाकेशरी राईले भनिन् । ‘शेर्पा समुदायका बालबालिकाबाहेक महाकुलुङ, सोताङदेखि टाढाका गाउँबाट समेत अध्ययनका लागि आउँछन्,’ प्रअ राईले भने । १३ शिक्षकको मात्रै सरकारी दरबन्दी रहेको उक्त विद्यालयमा निजी क्षेत्र, हिमालयन ट्रस्ट र गाउँपालिकाले पनि शिक्षकहरूको व्यवस्था गरेका छन् ।

यो विद्यालयले स्तरवृद्धि गरेसँगै गुणस्तरीय शिक्षाकै लागि सहर जानुपर्ने स्थानीयको बाध्यता पनि हटेको छ । ‘यहींको पढाइ राम्रो छ, माविसम्मको अध्ययन यहीं गर्छु,’ कक्षा ९ का फुर्वातेन्जिङ शेर्पाले भने । अभिभावक पनि गाउँमै बालबच्चालाई आधुनिक र प्रविधियुक्त शिक्षा पढाउन पाउँदा मक्ख छन् । ‘यहाँ प्राविधिक ज्ञान दिइन्छ । कम्प्युटर, विज्ञानमा पनि हाम्रा बच्चाहरू तगडा छन्,’ अभिभावक पासाङ शेर्पाले भने ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

बर्डफ्लु नियन्त्रणका लागि सीमामा निगरानी

कान्तिपुर संवाददाता

दार्चुला — बर्डफ्लु नियन्त्रणका लागि भारतसित सीमा जोडिएका नाकामा निगरानी बढाइने भएको छ । भारतसित जिल्लाका दर्जन नाकाबाट बर्डफ्लु भित्रिने सम्भावना रहेकाले निगरानी बढाउन लागिएको हो ।

जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसको नियन्त्रणका लागि खुला सीमानाकामा निगरानी बढाउने निर्णय गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रामबहादुर खड्काले बताए । उनका अनुसार अहिले भारतसँग जोडिएका जिल्लाका १० वटा नाका सञ्चालनमा छन् । ‘केही ठाउँमा तुइन र ट्युबको प्रयोग गरी भारत आवतजावत हुन्छ । यसले बर्डफ्लु भित्रिने सम्भावना हुन्छ’ उनले भने, ‘भारतबाट पन्छीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी अवैध रूपमा कुखुरा, चल्ला र अन्डा भित्रिने गरेका छन् ।’

सरकारले भारतीय सेतो अन्डा, मासुजन्य पदार्थ आयातमा पूर्ण रोक लगाएको भए पनि लुकिछिपी व्यापार हुने गरेको छ । अन्य रोगभन्दा बर्डफ्लुले मानवीय क्षति बढी गर्ने हुँदा सचेतना अपनाउनुपर्ने खड्काको भनाइ छ । बर्डफ्लुको जोखिम भएकाले पन्छी तथा पन्छीजन्य पदार्थ ओसारप्रसार गर्ने सरोकारवाला निकायले उच्च सतर्कता अपनाउनुपर्ने प्राविधिक समितिको जोड छ । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र सम्बद्ध निकायले सक्रियता बढाउनुपर्ने बर्डफ्लु नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×