कोशी प्रदेश : नयाँ सरकार गठनको खेल

देवनारायण साह

मोरङ — संघीय सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि सत्ताको गणितीय खेल सुरु भएको छ । योसँगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको हो । नयाँ गठबन्धन दलहरूले प्रदेश सरकारको नेतृत्वमा आ–आफ्नै दाबी प्रस्तुत गर्न थालेपछि कोशी प्रदेश सरकारको नेतृत्व अब कसको भागमा पर्ला भन्ने चासो बढेको छ । 


कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदले आ–आफ्नै दाबी प्रस्तुत गरिरहे पनि प्रदेश सरकारको नेतृत्व केन्द्रीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले गर्ने निर्णयमा निर्भर छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दोस्रो पटक सदनबाट विश्वासको मत पाएपछि प्रदेशको सत्ता समीकरणको बाटो खुलेको हो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, राप्रपाका ६, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादीका १ जना प्रदेश सांसद छन् । माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका कार्कीले नेतृत्व गरिरहेको सरकार माओवादीले समर्थन फिर्ता लिएसँगै ढल्ने अवस्थामा पुगेको र नयाँ सरकार गठनको खेल सुरु भएको हो । यसका लागि सभामुख बाबुराम गौतम निर्णायक हुने देखिन्छन् । अहिलेका नयाँ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सभामुखसहित ४७ जना सांसद पुग्ने देखिन्छ ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार फेरबदलको अवस्था रहे पनि अहिले संघदेखि प्रदेशसम्म त्यस्तो कुनै तयारी नरहेको दाबी गरे । उनले गठबन्धन दलका केन्द्रीय शीर्ष नेताहरूले निर्णय गरेपछि मात्र प्रदेश सरकार परिवर्तनको प्रक्रिया सुरु हुने बताए । त्यसपछि मात्रै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय आउने आङ्बोको भनाइ छ । तर उनले आफू मुख्यमन्त्री बन्नका लागि जोडदार पहल गरिरहेको उनीनिकट प्रदेश सांसद बताउँछन् ।

एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि पुनः मुख्यमन्त्रीका लागि पहल गरिरहेको बताइन्छ । तर कांग्रेसका प्रदेश सांसदहरू एकीकृत समाजवादीका ४ जना मात्रै प्रदेश सांसद रहेकाले मुख्यमन्त्री दिएर अघि बढ्दा नकारात्मक सन्देश जाने भएकाले त्यस्तो हुन नदिन पार्टीभित्र दबाब बढाइरहेको बताउँछन् ।

कांग्रेसका प्रदेश सांसद केदार कार्कीले संख्यात्मक हिसाबले यस प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनु स्वाभाविक भएको बताउँछन् । तर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने सरकारको नेतृत्वका बारेमा अन्योलता व्यक्त गरे । ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने गठबन्धन दलहरूको संख्यात्मक हिसाबले सरकारको नेतृत्वको ग्यारेन्टी हुने अवस्था छैन,’ उनले भने, ‘गठबन्धन दलका केन्द्रीय शीर्ष नेताहरूले गरेको निर्णयका आधारमा प्रदेश सरकारको नेतृत्व कसले गर्ने विषय सुनिश्चित हुन्छ । यो विषयमा हामी बोलेर केही हुने अवस्था छैन ।’ सरकारको नेतृत्वको विषयमा कांग्रेसभित्र अन्तरद्वन्द्व देखिएको छ । यस प्रदेशमा कांग्रेसको पार्टीगत राजनीतिमा नेता कृष्णप्रसाद सिटौला पक्ष हाबी भएकाले सरकारको नेतृत्व अन्य पार्टीलाई नै छाडेर बढी मन्त्री लिएर सरकारमा जाने विषयमा बहुमत प्रदेश सांसदहरू एकमत देखिएका छन् ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

खेलौना बनाउन जुटे महिला

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको पाँचखाल नगरपालिका २ स्थित अनेकोटकी ६१ वर्षीया माइली बिकलाई बुढ्यौलीले छोइसक्यो । कपाल फुलेर सेताम्मे भइसके । आँखाले ठम्याउनै सक्दैनन् । आँखा कमजोर भएकाले सियोमा धागो छिराउन उनलाई हम्मेहम्मे पर्छ ।

मुस्किलले सियोमा धागो छिराइन् । छेउमै राखिएका छन्, विभिन्न आकारमा काटिएका कपडाका स–साना टुक्राहरू । ती टुक्रालाई सियो धागोले जोडेर आकार दिने प्रयास गर्छिन् ।

ती कपडाका टुक्राहरूलाई एकपछि अर्को गर्दै सिलाउँदै खेलौना तयार गर्दै छिन्, माइली । सियो मोटो भएकाले उनको बलले भ्याउँदैन, छेउको साथीसँग सहायता मागेर सिलाइलाई अघि बढाउँछिन् । माइलीले खेलौना बनाउने सीप सिक्दै छिन् । नगरपालिकाको हलमा माइलीले खेलौना बनाउने सीप सिकिरहेकी छन् ।

टेडी बियर (खेलौना) को आकार दिएको कपडालाई सिलाउँदै जान्छिन् । कहिले छेउमै बसेका साथीसँग त कहिले प्रशिक्षक मिससँग सिकाइ माग्न पुग्छिन् । बूढेसकालले गर्दा हात छिटो चल्दैनन् । साथीहरूभन्दा अलि ढिलो भएकी झैं महसुस गर्दै थिइन् । साथीहरूले बनाएको हेर्दै, सिक्दै उनले एक आधा घण्टामा डल तयार गरिन् । अघिल्लो दिन उनले कुसन तयार पारेकी थिइन् । नयाँ सीप भएकाले सिक्न अलि समय लागेको अनुभव उनले सुनाइन् ।

काम सियो र धागोको मात्रै हो । तर उमेर बढ्दै गएकाले सीपमा हात बस्न अलि समय लाग्ने उनको अनुभव छ । सियो र धोगोसम्बन्धीे सीप बाल्यकालदेखिकै हो । अहिले बुढ्यौली लागेको उमेरमा पनि सीप सिक्ने रहर जागेको उनले बताइन् । ‘यो चाहिँ अलि नयाँ लाग्यो, हातैको सीप भएकाले सिक्न सजिलो हुन्छ जस्तो लाग्यो,’ गाउँ–घरमा सीपका धेरै कार्यक्रम आएका तर सिक्ने इच्छा नजागेको बताउँदै उनले भनिन्, ‘सुरुमा अलिकति गाह्रो भए पनि गर्दै गएपछि हात बस्न थालेको छ ।’ दुई–चार पैसा आम्दानी हुने सोचेर सिकेको सुनाइन् । बजारमा एउटा खेलौनाको २ सयदेखि हजार रुपैयाँसम्म पर्छ । यसलाई व्यावसायिक रूपमा काम गर्न सकेर राम्रो आम्दानी हुने उनको ठम्याइ छ ।

पाँचखाल–२ अनेकोटकी ५६ वर्षीया दुर्गा परियारले पहिलो पटक खेलाउन बनाउन सिक्दै छिन् । ‘सिप सिक्नलाई उमेरले छेक्दैन,’ सियो र धागोको काम भएको उल्लेख गर्दै भनिन्, ‘आफूसँग गर्ने सिक्ने इच्छाशक्ति हुनुपर्छ, बुढेसकालमा सिकिने रहेछ ।’ यो काम घरमै बसेर गर्न सकिने र धेरै मिहिनेत गर्न नपर्ने उनको ठम्याइ छ । बजारमा खेलौना र कुसन बजारमा बढी बिक्छ ।

घरमा नाति–नातिनीलाई खेलौना खेलाइरहने पाँचखाल, तिनपिप्लेकी ५१ वर्षीया शारदा श्रेष्ठले आफैंले खेलौना बनाउने सीप सिक्न पाउँदा खुसी छिन् । घरमा यत्तिकै बस्नुभन्दा, तालिममा सहभागी भएर सीप जानेको उनले बताइन् । ‘सीप सिक्दा समय बितेको पनि पत्तै नहुने रहेछ,’ उनले भनिन्, ‘सीप सिक्ने मात्र नभएर साथीहरूसँग ठट्टा गर्‍यो, नाँचगान गर्‍यो, निकै रमाइलो हुने रहेछ, दिन बितेको थाहै हुन्न ।’ फुर्सदको समयलाई केटाकेटीसँगै सदुपयोग हुने उनले बताइन् । योजना सुनाउँदै उनले भनिन्, ‘सुरुमा बुहारीलाई यो सीप सिकाउँछु, सिकाइ माग्न आउने अरूलाई पनि सिकाउँछु ।’

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सीपमूलक तालिम कार्यक्रमअन्तर्गत काभ्रेको पाँचखालमा खेलौना र कुसन बनाउने तालिम सञ्चालन गरेको हो । तालिममा ६० जना पाका महिला सहभागी छन् । प्रशिक्षक शोभा खड्का खत्रीले सहभागीहरूलाई सीप सिकाउने मात्र नभएर काम गर्न इच्छुकलाई रोजगारीको व्यवस्थापन गराइने जानकारी दिइन् । सीपलाई व्यावसायिक रूपमा लैजान चाहनेलाई उनीहरूको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने जनाइन् ।

महिलालाई उद्यमी बनाउँदै आर्थिक स्तर वृद्धि गराउनका लागि पाँचखाल नगरपालिकाले सीपमूलक तालिम प्रदान गर्दै आएको नगर प्रमुख महेश खरेलले बताए । सीप सिकेर आत्मनिर्भर बनाउनका लागि महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि नगरपालिकाले सहजीकरण उल्लेख गरे । सका लागि नगरपालिकाले कोसेली घर तयार गर्दै गरेको जनाए । संस्थाले प्रत्येक वर्ष जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिकाका महिलालाई विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बनेपा शाखा प्रमुख जीवन मानन्धरले बताए ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×