अलपत्र यात्रुलाई हेलिकोप्टरबाट सोलु पुर्‍याइयो

टीकाप्रसाद भट्ट

रामेछाप — सोलुखुम्बुको मौसम खराब भएपछि रामेछाप विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई सोमबार हेलिकोप्टरबाट सोलु पुर्‍याइएको छ ।

रामेछाप नागरिक उड्यन कार्यालयका अनुसार जहाजको उडान हुन नसकेपछि हेलिकोप्टर चार्टर गरेर यात्रुहरु सोलुतर्फ गएका हुन् । सोमबार रामेछाप विमानस्थलबाट विभिन्न कम्पनीका हेलिकोप्टरले ६ वटा उडान गरेका थिए ।

बसन्त ऋतुमा सगरमाथातर्फ जाने पर्यटकलाई लक्षित गरी निजी क्षेत्रका केही वायु सेवा कम्पनीले केही दिनदेखि रामेछाप विमानस्थलबाट लुक्लाको उडान थालेका थिए । यद्यपि चैतको १२ गतेबाट मात्र औैपचारिक उडान हुने तालिका रहेको रामेछाप विमानस्थल कार्यालयकी प्रमुख सरिता पाण्डेले बताइन् ।

‘चैत १२ देखि रामेछाप विमानस्थलमानै जहाज पार्किङ गरेर लुक्लातर्फको उडान गर्ने तालिका प्राप्त भएको छ,’ पाण्डेले भनिन् ।

गएको सिजनमा रामेछाप विमानस्थलमा ६ वटासम्म जहाज रात्रिकालीन पार्किङ राखेर निजी क्षेत्रको सीता, समिट र तारा एयरले लुक्लातर्फ उडान गरेका थिए । सगरमाथातर्फ जाने पर्यटकको माग बमोजिम काठमाडौंबाट मात्र उडान गर्दा सेवा दिन नसक्ने भएपछि खाली रहेको रामेछाप विमानस्थलबाट उडान गर्न वायुयान कम्पनी आउने गरेका छन् ।

रामेछाप विमानस्थलबाट उडानका लागि पर्यटकहरुलाई काठमाडौंबाट १ सय ३० किलोमिटर सडक मार्गबाट यात्रुहरु ओसारेर रामेछाप ल्याउने गरिएको र त्यहाँबाट उडान मार्फत लुक्ला लैजाने र ल्याउने गरिएको छ । गएको पर्यटकीय सिजन सेप्टेम्बर र अक्टोबरमा रामेछाप विमानस्थलबाट दैनिक ४५ वटा उडान भएका थिए । सोलुबाट रामेछाप सम्म जहाजमा ल्याइएका पर्यटकहरुलाई त्यसपछि फेरि सडक मार्गबाटै काठमाडौं पठाउने गरिएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

८ करोडका सीसीटीभी जडान गर्दै काठमाडौं महानगर

महानगरका विभिन्न स्थानमा सीसीटीभी जडानका लागि चालू आर्थिक वर्षमा विनियोजन गरेको २० करोडमध्ये ८ करोड खर्च गर्न लागेको हो ।
बन्चरेडाँडा पनि सीसीटीभीको निगरानीमा
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महागरपालिले ८ करोड रुपैयाँ खर्चेर क्लोज सर्किट टेलिभिजन (सीसीटीभी ) जडान गर्न थालेको छ । महानगरका विभिन्न स्थानमा सीसीटीभी जडानका लागि २० करोड रुपैयाँ विनियोजन गरे पनि तत्कालका लागि ८ करोड रुपैयाँ खर्चेर जडान गर्न लागिएको हो ।

महानगरका प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरका अनुसार प्रहरीसँगको सहकार्यमा ती सीसीटीभी जडान गर्न थालिएको हो । पहिलो चरणमा वडा कार्यालयहरूमार्फत् सार्वजनिक स्थान,चोक तथा गल्लीहरूमा २ करोड र नेपाल प्रहरीसँगको सहकार्यमा मुख्य सडकभित्र रहने गरी महत्त्वपूर्ण स्थानमा ६ करोड रुपैयाँ खर्चेर जडान गर्न थालिएको हो ।

हाल वडा कार्यालयहरूमार्फत सीसीटीभी जडान गर्ने काम धमाधाम भएको उनले जानकारी दिए । प्रहरीसँग केही दिनभित्रै समझदारीपत्रमा हस्ताक्षर गरिने उनले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा सीसीटीभी जडानका लागि मात्रै २० करोड रुपैयाँ विनियोजन गरेको छ । जसअनुसार वडाहरूमा १० करोड ५९ लाख, आन्तरिक ४ करोड र प्रहरीसँगको साझेदारीमा ६ करोड रूपैयाँ विनियोजन गरिएको सूचना प्रविधि शाखाले जनाएको छ । प्रवक्ता मान्नधरले भने,' अहिले हामीले ८ करोड रुपैयाँ खर्चेर सीसीटीभी जडान गर्न लागेका हौं । बजेटमा चाहिँ २० करोड हो ।' काम थपिँदै गए बजेटको आकार पनि बढ्ने उनले बताए ।

महानगरले ती क्यामेरा प्रहरीसँगको साझेदारीमा जडान गर्ने जनाएको छ । केन्द्रीय बजेटमार्फत् काठमाडौं उपत्यका प्रहरी कार्यालयसँगको साझेदारीमा महानगरका मुख्य चोकहरूमा ६ करोडको रूपैयाँको जडान गर्न लागिएको हो । यस्तै वडाहरूमार्फत् जडान हुने क्यामेरा सूचना प्रविधि विभाग र प्रहरीको सुझावअनुसार जडान गरिने प्रवक्ता मानन्धरले जानकारी दिए ।

यसअघि २०७५ माघ २५ गते महानगरको नगर कार्यपालिकाको बैठकले सहरमा शान्ति सुरक्षा कायम गर्न तथा सहरी व्यवस्थापनका क्रियाकलापमा निगरानी गर्नका लागि सीसीटीभी जडान, सञ्चालन, मर्मत सम्भार र सूचनाको उपयोग गर्ने प्रणालीका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरले नेपाल प्रहरीलाई ३ करोड रुपैयाँ दिएको थियो ।

सो रकमबाट प्रहरीले १ सय ६५ वटा सीसीटीभी खरिद गरेको थियो । तीमध्ये हाल १ सय ५८ वटा चालू अवस्थामा छन् । सडक विस्तारका क्रममा ७ वटा सीसीटीभी प्रयोगविहीन भएको महानगरले जनाएको छ । ती सीसीटीभी रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुने गर्छ । उपत्यकामा भएका ३ हजार २३१ वटा सीसी क्यामेरामध्ये १ हजार ५१ वटा लाइभ फुटेज प्रहरीले दृश्य कन्ट्रोल रुमबाट निगरानी गर्दै आएको छ । महानगरले शान्ति सुरक्षा र सहरी व्यवस्थापनका कोणबाट सीसीटीभी आवश्यक रहेको जनाएको छ ।

महानगरको भौगोलिक क्षेत्रभित्र शान्ति सुरक्षा, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण जस्ता अनधिकृत क्रियाकलाप माथि नियन्त्रणका लागि प्रहरीसँगको साझेदारीमा सीसीटीभी जडान गर्न लागिएको जनाएको छ ।

प्रहरीले पहिलो पटक २०६३ सालमा ११ वटा एनालग सीसीटीभी क्यामेरा राखेर निगरानी सुरु गरेको हो । २०७१ सालको १८औँ सार्क शिखर सम्मेलनका समयमा २०३ वटा आईपी बेस क्यामेरा थप गरिएको थियो ।

सीसीटीभी जडान तथा सञ्चालनका लागि गृह मन्त्रालयले कार्यविधि पनि बनाएको छ । कार्यविधिले सीसीटीभीलाई सार्वजनिक क्षेत्र, व्यापारिक प्रयोजन र निजी प्रयोजन गरी ३ प्रकारमा वर्गीकरण गरेको छ ।

जसअनुसार होटलका कोठा, शौचालय, कपडा फेर्ने कोठामा सीसीटीभी राख्न नहुने, व्यक्तिको मानव अधिकार उल्लङ्घन हुने गरी वा स्वतन्त्रपूर्वक हिँड्न पाउने अधिकारमा असर पर्ने गरी क्यामेरा जडान गर्न नहुने उल्लेख छ । व्यापारिक तथा निजी प्रयोजनका लागि जडान हुने सीसीटीभी क्यामेरा सम्बन्धी विवरण नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

अब बन्चरेडाँडा सीसीटीभीको निगरानीमा

काठमाडौं उपत्यका मुख्य फोहोर विसर्जनस्थल बन्चरेडाँडा ल्यान्डफिल साइटमा सीसीटीभी जडान गरिएको छ । दैनिक १३ सय टन फोहोर विसर्जन हुने ल्यान्डफिल साइटको निगरानीका लागि महानगरले सीसीटीभी जडान गरेको हो । पहिलो चरणमा ४ वटा क्यामेरा जडान गरिएको प्रवक्ता मानन्धरले जानकारी दिए ।

'छिटो सूचना प्रवाह होस् भनेर पहिलो पटक सिसडोल र बन्चरे डाँडामा सीसी क्यामेरा जडान गरिएको छ,' प्रवक्ता मानन्धरले कान्तिपुरसित भने,' यो आवश्यकताका आधारमा जडान गरिएको हो । छिटो सूचना प्रवाह होस् भनेर बन्चरे डाँडाजस्तो संवेदनशील स्थानमा सीसीटीभी जडान गर्न आवश्यक देखिएकाले हो । १३ सय टन फोहोर जाने ठाउँ भएकाले क्विक रेस्पोन्स पनि हुन्छ । ' महानगरले टेकु ट्रान्सफर स्टेसन तथा सार्वजनिक पार्कहरूमा पनि सीसीटीभी जडान गरेको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×