तीन पूर्ववडाध्यक्ष दोषी ठहर

कान्तिपुर संवाददाता

विराटनगर — तीन वर्षअघि विवाहसम्बन्धी विवादमा ज्यान गुमाएका विराटनगर–१४ का समानन्द यादवको मुद्दामा जिल्ला अदालत मोरङले तीन पूर्ववडाध्यक्षलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश दीनबन्धु बरालको इजलासले विराटनगर–१४ का पूर्ववडाध्यक्ष बलदेव यादव, १८ का पूर्ववडाध्यक्ष सञ्जय साह र जहदा गाउँपालिका–१ का पूर्ववडाध्यक्ष प्रदीपचन्द्र यादवसहित दीपेश यादव, भोलु यादव, वीरेशकुमार यादव र विन्देश्वर यादव संलग्न भएको भन्दै दोषी ठहर गरेको छ । अदालतले उनीहरूलाई जनही २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै अदालतले सातै जनाबाट जनही १ लाख ५० हजारका दरले मृतकका परिवारलाई क्षतिपूर्ति भराउन पनि आदेश दिएको अदालतका सूचना अधिकृत हेमबहादुर बुढाथोकीले बताए । उनीहरूमध्ये भोलु र सञ्जयको कैद भुक्तान पूरा भइसकेको छ । उनीहरू क्षतिपूर्ति रकम जनही १ लाख ५० हजार बुझाएर आइतबार रिहा भएको बुढाथोकीले बताए ।

०७५ जेठ ३२ मा नातेदारको विवाहको विषयमा वडा १४ का तत्कालीन वडाध्यक्ष बलदेव यादवको घरमा पञ्चायती बसेको समयमा समानन्द यादवमाथि कुटपिट भएको थियो । उनको असार २७ मा उपचारका क्रममा मृत्यु भएको थियो । आफ्ना नातेदारकी छोरीसँग समानन्दले छोराको विवाह गराउन नमानेपछि तीन तत्कालीन वडाध्यक्षसहित १० जनाले कुटपिट गरेको पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।

आरोपीमध्ये विराटनगर–१८ का तत्कालीन वडाध्यक्ष सञ्जय र जहदा–१ का तत्कालीन वडाध्यक्ष प्रदीपचन्दलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । विराटनगर–१४ का पूर्ववडाध्यक्ष बलदेवलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दिएको थियो । मुद्दाका बाँकी तीन जना रविन यादव, शम्भु यादव र दिनेशप्रसाद यादव अझै फरार छन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा सर्वपक्षीय स्ववियु गठन

माधव अर्याल

पाल्पा — मुलुककै जेठो क्याम्पस (विसं २०११) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा कांग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार राति अबेर गठन भएको छ । मनोनयनका दिन फागुन २७ गते एमाले निकट अनेरास्ववियुले निर्वाचन अधिकृत कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचनका कार्यक्रम अघि बढ्न सकेको थिएन ।

सर्वपक्षीय स्ववियुमा कांग्रेस समर्थित नेपाल विद्यार्थी संघका कृष्ण अर्याल अध्यक्षमा चयन भएको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जारी गरेको विज्ञप्तिमा छ । विज्ञप्तिका अनुसार उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका अमृत भट्टराई, सचिव अनेरास्ववियु (क्रान्तिकारी) का ताराबहादुर रायमाझी, नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुबाट सहसचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुका सन्तोष पोखरेल चयन भए ।

सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसंघबाट मिस्मा राना र सुशील बस्याल चयन भए । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटी मगर, मिलन सारु, सुजिता राना, विञान दुधराज, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट उज्जवल भटराई र तुषार कालिकोटा चयन भएका छन् । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा चयन भए ।


यसअघि विभिन्न माग राखेर क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यालयमा लगाएको तालबन्दीका विषयमा विभिन्न वार्ता र संवादपछि संगठनले उठाएका सम्पूर्ण मागहरुलाई क्याम्पस प्रशासनले तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष अमृत भट्टराई र क्याम्पस प्रमुख टंकप्रसाद भटराईबीच हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


साथै क्याम्पस प्रशासनले अनेरास्ववियुले उठाएको मगहरु स्ववियु निर्वाचन आचारसंहिता निस्तेज भएपश्चात माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि तालाबन्दी खोल्न राजी भएको विज्ञप्तिमा छ । पटकपटकको सर्वदलीय, सर्वपक्षीय, विद्यार्थी संगठनबीच भएको वार्तापछि सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन बनाउने सहमति भएको हो । पद बाँडफाँटमासमेत विद्यार्थी संगठनबीच पटक पटक वार्ता भएको थियो ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×