कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप

सशस्त्र प्रहरी बलद्वारा चार राउन्ड हवाई फायरसागै अश्रुग्यास
प्रदर्शनकारीको ढुंगा लागेर चार सुरक्षाकर्मी घाइते
देवनारायण साह

मोरङ — प्रदेशसभाले कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित भएपछि आइतबार दिनभर विराटनगर तनावग्रस्त रह्यो ।

कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप

उक्त समुदायले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी गर्दै आएको आन्दोलन उग्र बनेपछि सशस्त्र प्रहरी बलले चार राउन्ड हवाई फायर र २४ सेल अश्रुग्यास प्रहार गरेको थियो ।

विराटनगरस्थित जनआन्दोलन चोकबाट सुरु भएको प्रदर्शन रोडशेष चोकमा स्थानीय प्रशासनले यसअघि नै घोषणा गरेको निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ बढ्ने क्रममा प्रहरीले अश्रुग्याससँगै हवाई फायर गरेर रोकेका थिए । आन्दोलनकारीको ढुंगा लागेर सशस्त्र प्रहरी र नेपाल प्रहरीका चार जना सुरक्षाकर्मी घाइते भएका छन् ।

सशस्त्र प्रहरीका सहायक निरीक्षकको टाउकोमा चोट लागेको र अन्य सामान्य घाइते भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

घाइते सशस्त्र प्रहरी सहायक निरीक्षकको अवस्था सामान्य रहेको मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । प्रहरीले नियन्त्रणमा लिएका चार आन्दोलनकारीलाई आइतबार साँझ रिहा गरिएको छ ।

आन्दोलनकारीले मुख्यमन्त्री हिक्मत कार्कीको पुतला दहनका साथै कोशी प्रदेशको पक्षमा मतदान गरेका प्रदेश सांसदको विरोध गरेका थिए । आन्दोलनका कारण दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म रोडशेष चोकस्थित कोशी राजमार्ग अवरुद्ध भएको थियो । प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । ९३ सदस्यीय प्रदेशसभाबाट फागुन १७ मा ८२ प्रदेश सांसदको समर्थनमा कोशी प्रदेश नामकरण भएको हो । यस प्रदेशका आदिवासी जनजाति समुदायले पहिचानका आधारमा नामकरणको माग गर्दै प्रदेश संरचना निर्माण भएदेखि नै आन्दोलन गर्दै आएका छन् । उनीहरूले अब निर्णायक आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले उनीहरूको आन्दोलन नियन्त्रण गर्न प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मुख्यमन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?