वर्षा र विवादबीच स्ववियु निर्वाचन जारी- कोशी - कान्तिपुर समाचार
तस्बिरहरू

वर्षा र विवादबीच स्ववियु निर्वाचन जारी

आनन्द गौतम

ताप्लेजुङ — एमाले निकटको अनेरास्ववियु र जसपा निकटको संघीय विद्यार्थी युनियनको तालाबन्दी र वर्षाका बीच पाथीभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । बिहान ८ बजेदेखि गर्ने भनिएपनि ९ बजे पछि मात्रै मतदान सुरु भएको हो । रातिदेखि वर्षा भइरहेकाले विद्यार्थीहरु छाता ओढेर ढिलोगरी आइरहेका छन् ।

हठातमा निर्वाचन अधिकृत परिवर्तन गरिएको र परिचयपत्रमा क्युआर स्क्यान गर्दा पूर्ण विवरण नदेखिएको भन्दै दुई विद्यार्थी संगठनले मौन अवधि सुरु हुने दिन बेलुका क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए ।

पटक/पटकको छलफलमा सहमति नभएपछि शनिबार दिउँसो एमालेका निवर्तमान जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्वोहाङ सहितका नेताले क्याम्पसमै पुगेर निर्वाचन नगराउन चेतावनी दिएका थिए । क्याम्पस प्रशासनले निर्वाचन गर्ने एकिन गरेपछि जिल्ला प्रशासन कार्यालयमा शनिबार बेलुका सर्वदलिय, सर्वपक्षीय बैठक भएको थियो । उक्त छलफलमा पनि सहमति नजुटेपछि निर्वाचन सुरु भएको हो ।

निर्वाचन अधिकृत उमेश अधिकारीले जरुरी कामले विराटनगर जानुपर्ने भन्दै राजीनामा दिएपछि क्याम्पस प्रशासनले समितिका सदस्य युवराज बस्नेतलाई अधिकृत बनाएको छ । अधिकारीले भने कसैको दबाब र हठातमा नभइ आफ्नो विशेष कामले सबै विद्यार्थीलाई सुनाएर राजिनामा दिएको बताएका छन् । रातिदेखि वर्षा भएपछि पाल लगाएर मतदानस्थल बनाइएको छ ।

क्याम्पसमा एमाले र जसपा निकटका विद्यार्थी संगठनले एउटा र कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी, नेकपा एस निकटको अनेरास्ववियु र संघीय लोकतान्त्रिक मञ्च निकटको विद्यार्थी संगठनले एउटा समूह बनाएका छन् ।

क्याम्पसमा ९ सय ८३ विद्यार्थी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।



प्रकाशित : चैत्र ५, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

४ दिनदेखि एक वृद्ध बेपत्ता

महेश केसी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका ३ का ६१ वर्षीय लोकबहादुर खत्री हराएको ४ दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेको उनका आफन्तले बताएका छन् । बुहारी पार्वती केसीका अनुसार गत चैत १ गते बुधबार बिहान साढे ७ बजेतिर घाँस काट्न भनेर वनतिर गएका खत्री घरमा नफर्किएका हुन् ।

बोल्न नसक्ने खत्री त्यस दिन सधैं झैं घाँस काट्न गएको तर दिउँसो १ बजेसम्म पनि घर नआएपछि खोजी गर्दा अहिलेसम्म नभेटिएको बुहारी केसीको भनाइ छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमा समेत खबर गरेका छन् ।

रुकुमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले खोजीकार्य जारी रहेको बताउँदै प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘बेपत्ता व्यक्तिको खोजीका लागि हामी लागिपरेका छौं । शंका लागेका सबै ठाउामा खोजी जारी छ । तर, अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन ।’

बेपत्ता खत्रीको परिवारमा उनकी श्रीमती, एक छोरा, एक छोरी, बुहारी र २ नातीनातिनी रहेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ ११:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×