कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सीमावर्ती क्षेत्रमा होमस्टे चलाइने

पाँचथर — भारतको पश्चिम बंगाल र सिक्किमको सिमाना जोड्ने पाँचथरस्थित उच्च पहाडी एवं हिमाली क्षेत्रमा पर्यटक सुविधाका लागि होमस्टे सञ्चालनको तयारी थालिएको छ ।

सीमावर्ती क्षेत्रमा होमस्टे चलाइने

फालेलुङ गाउँपालिका वडा ४ र ५ स्थित आहाले, चन्दु, चारराते, सिखरगुम र तीन सिमाना क्षेत्रमा ३० वटा होमस्टे सञ्चालन गरिने योजना अघि बढेको छ । सीमावर्ती क्षेत्रबाट थालिएका उक्त योजना फालेलुङका मुवाझर्ना, गुरुङटार, पानावा, भैंसे र गोरुवाले जस्ता पर्यटकीय स्थलसम्म विस्तार गर्ने लक्ष्य राखेर सहजीकरण गरिएको फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्थाका उपाध्यक्ष शिल्प राईले जानकारी दिए ।

उनका अनुसार होमस्टे सञ्चालनका लागि फालेलुङ गाउँपालिकाले कार्यविधि बनाएर कार्यपालिका बैठकमार्फत् पारित गरिसकेको छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँविकास समितिले होमस्टे दर्तासँगै सञ्चालकहरूका लागि आधारभूत तहको तालिम सञ्चालन गरेको छ । हालसम्म ९ होमस्टे दर्ता भइसकेको र बाँकी २१ वटा दर्ता प्रक्रियामा छन् । यसका लागि आवश्यक पूर्वाधार सञ्चालक स्वयंले निर्माण गर्ने, गाउँपालिकाले स्थानीय, सामुदायिक वन उपभोक्ता समिति र सरोकारवाला निकायमा समन्वय गरिदिने र उक्त समितिले आर्थिक र प्राविधिक सहयोग गर्ने सहमति भएको छ ।


उक्त समितिका लेखापाल लीलाप्रसाद तिम्सिनाका अनुसार मन्त्रालयले व्यवसायीलाई आधारभूत तहदेखि खाना पकाउने, हस्पिटालिटीजस्ता प्राविधिक तालिमसँगै सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग गर्नेछ । पाँचथर र इलामका उच्च पहाडी तथा हिमाली भेगमा चौंरीसँगै रेडपाण्डा र विभिन्न जडीबुटी पाइन्छन् । यहाँ आन्तरिकसँगै भारतको बंगाल, सिक्किम, पञ्जाब र भुटानबाट समेत पर्यटक आउँछन् । सीमावर्ती क्षेत्रमा भारततर्फ ठाउँठाउँमा व्यवस्थित होटल र लज सञ्चालनमा आए पनि नेपालतर्फ छिटफुटबाहेक त्यस्ता सेवा व्यावसायिक रूपमा सञ्चालन गरिएको छैन । नेपालतर्फ घुम्न आएका पर्यटकमध्ये धेरै पाल टाँगेर वा चौंरी गोठमा बस्न बाध्य हुन्छन् ।

ती पर्यटकलाई सुविधा दिन होमस्टे सञ्चालनको अवधारणा ल्याइएको हो । फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ होमस्टे सञ्चालनमा आएपछि यस क्षेत्रमा आउने पर्यटकलाई गाँसबासको सुविधासँगै स्थानीयको आयस्रोतमा पनि वृद्धि हुने बताउँछन् । यहाँका होम स्टेमा मकै, भट्मास, आलु, फर्सी, इस्कुस, बन्दाकोबी, रायो, चौंरीको चिजजस्ता वस्तुका परिकारलाई प्राथमिकता दिइने सञ्चालक प्रमिला तामाङ बताउँछिन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?