तालाबन्दीका बावजुद पाथीभरा क्याम्पसमा निर्वाचन गरिने- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्ववियु निर्वाचन

तालाबन्दीका बावजुद पाथीभरा क्याम्पसमा निर्वाचन गरिने

आनन्द गौतम

ताप्लेजुङ — एमाले निकट अनेरास्ववियु र जसपा निकट संघीय विद्यार्थी युनियनको तालाबन्दीका बीच पाथीभरा बहुमुखी क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुने भएको छ । क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिले शनिबार एक विज्ञप्ति प्रकाशन गरी आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने जनाएको हो ।

‘स्वतन्त्र विद्यार्थी युनियन निर्देशिका २०७९ र क्याम्पसमा पूर्व प्रकाशित स्ववियु निर्वाचन तालिका अनुसार बिहान ८ देखि बेलुका ४ बजेसम्म मतदान हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ क्याम्पस प्रमुख मोहन कुमार राई र स्ववियु निर्वाचन अधिकृत युवराज बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ ।

दुई विद्यार्थी संगठनले अचानक निर्वाचन अधिकृत परिवर्तन गरिएको र परिचय पत्रमा क्युआर स्क्यान गर्दा पूर्ण विवरण नदेखिएको भन्दै सच्याउन माग गर्दै क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका छन् ।

निर्वाचन अधिकृत उमेश अधिकारीले जरुरी कामले विराटनगर जानुपर्ने भन्दै राजीनामा दिएपछि क्याम्पस प्रशासनले समितिका सदस्य बस्नेतलाई निर्वाचन अधिकृत बनाएको छ । अधिकारीले कसैको दवाव र हठातमा नभइ आफ्नो विशेष कामले सबै विद्यार्थीलाई सुनाएर राजीनामा दिएको कान्तिपुरलाई बताए । निर्वाचन प्रयोजनका लागि बारबेरा गर्ने, मतपत्र छाप्ने लगायतका काम पूरा भएको राईले बताए । शनिबार बिहान बसेको क्याम्पस सञ्चालक समितिको बैठकले पूर्व निर्धारित कार्यक्रम अनुसार नै निर्वाचन गर्ने निर्णय गरेको थियो ।

वर्तमान अवस्थामा निर्वाचन गर्न नसक्ने मनसाय शुक्रबार क्याम्पस प्रशसानले प्रकट गरेपछि नेविसंघ नेतृत्वको चार विद्यार्थी संगठनले निर्वाचन गराउन दवाव दिँदै नाराजुलुस गरेको थियो । क्याम्पसमा कांग्रेस निकटको नेविसंघ, माओवादी निकटको अखिल क्रान्तिकारी, नेकपा एस निकटको अखिल र संघीय लिम्बूवान परिषदको विद्यार्थी संगठनले गठबन्धन गरेका छन् । निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भई मौन अवधि सुरु हुनै लाग्दा तालाबन्दी भएपछि आफूलाई निर्वाचन किन नगर्ने भन्ने जवाफ दिने अवस्था नभएको क्याम्पस प्रमुख राई बताउँछन् । क्याम्पसमा ९ सय ८३ विद्यार्थी मतदाता रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७९ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — विभिन्न राजनीतिक दलका नेताहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन आग्रह गरेका छन् । यहाँ काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थापन’ विषयक अन्तक्रियामा नेताहरूले शान्ति प्रक्रियामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्नेमा जोड दिए ।

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिए नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरू पनि उत्तिकै जिम्मेवार रहेको तर्क गरे । सशस्त्र द्वन्द्वका पीडितले न्याय चाँडो पाउनुपर्ने बताउँदै उनले न्यायका लागि शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्नेमा जोड दिए ।

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोलाले गणतन्त्र ल्याउन बलिदान गर्नेहरूमाथि नै मुद्दा लगाइएको भन्दै आपत्ति जनाए । सोही पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले राजनीतिक विषयलाई राजनीतिक विषयभन्दा कानुनी विषयमा हल गर्न खोजिएकाले समस्या पैदा भएको तर्क गरे ।

माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले सशस्त्र द्वन्द्वको इतिहासलाई संविधानले स्वीकार गरिसकेको बताउँदै द्वन्द्वका पीडितहरूलाई न्याय नियमित अदालतमा दिन नमिल्ने बताए ।

प्रकाशित : चैत्र ४, २०७९ २०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×